सुर्खेत सिटी बसपार्क निर्माण पूरा

Posted on: 13 May, 2019

नगर गौरवको आयोजनाका रुपमा सञ्चालित सुर्खेत सिटी बसपार्क निर्माण पूरा भएको छ । 

पटक–पटकको म्याद थपसँंगै निर्माण कम्पनीले चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क निर्माण गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक शाखाले निर्माण पूरा भए पनि ठेकेदारलाई अन्तिम किस्ता रकम भुक्तानी गर्न बाँकी रहेको छ । निर्माण कम्पनी चाङ्मिला–नरसिंह जेभी दार्चुलाले केही दिनभित्रै नगरपालिकालाई आयोजना हस्तान्तरणको तयारी गरेको छ ।

 आयोजना छिटो सम्पन्न गर्न नगरपालिकाले विशेष चासो दिएको थियो । नगरप्रमुख देवकुमार सुवेदीले छिटोभन्दा छिटो बसपार्क निर्माण गर्न ठेकेदारलाई पटक–पटक चेतावनी दिएको बताउनुभयो । 

“प्रदेश राजधानीमै व्यवस्थित बसपार्क नहुँदा समस्या थियो, खबरदारी नभएको भए ठेकेदारले अलपत्रै छाड्ने स्थिति थियो”, उहाँले भन्नुभयो, “बसपार्क निर्माणपछि मङ्गलगढी चोकलाई विस्तार र व्यवस्थित गरिनेछ ।” मुख्यबजार प्रवेश गर्ने स्थानमै बसपार्क सञ्चालनमा ल्याइदा नगर क्षेत्रको सुन्दरता बिगे्रको भन्दै आलोचना भएको थियो । 

निर्माण कम्पनी चाङ्मिला–नरसिंह जेभी तथा नगर विकास समितिबीच विसं २०७२ माघमा सम्झौता भएको थियो । पन्ध्र महीनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले चार वर्ष लगाएर सिटी बसपार्क पूरा गरेको हो । रु छ करोड ८३ लाखको लागतमा  बनेको अत्याधुनिक बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, टर्मिनल भवन, टिकट काउन्टरलगायत संरचना छन् । करीब चार हजार ५०० वर्गमिटर क्षेत्रफल रहेको बसपार्कको क्षमता साना–ठूला गरी १२० बस अटाउने रहेको छ ।

नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गरिएको यातायात व्यवसायी समितिका निवर्तमान सचिव रमेश सापकोटाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!