टोखामा पाँचसय घर पुनःनिर्माण

Posted on: 14 May, 2019

बैशाख ३१, काठमाडौं | ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो । 

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले भूकम्पले क्षति पुर्याएका एक हजार ७४५ घरमध्ये एक हजार ६२४ घर पुनःनिर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेकामा एक हजार ५८६ घरले पहिलो किस्ता, ६७० घरले दोस्रो किस्ता र ५०० घरले घर पुनःनिर्माण गरेर अन्तिम किस्तासमेत लिइसकेका छन्् । 

नगरपालिकाले प्रतिघर पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ । गोङ्गबुदेखि नुवाकोटसम्म फैलिएको उक्त नगरपालिकामा विसं २०६८ को तथ्याङ्कअनुसार २५ हजार ५६१ घरधुरीमा ९९ हजार ३२ सङ्ख्या थियो । झोर महाँकालको बौडेश्वर महादेव, चण्डेश्वरी, सपनतीर्थ, टोखा सरस्वती, इन्द्रेणी, भूतखेल चौर, वसुन्धरादेवी, मनोहरतीर्थ, बीचविनायकलगायत ऐतिहासिक तथा धार्मिकस्थल टोखामा छन् । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताउनुभयो । “घरको क्षतिको आधारमा वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । भूकम्पले क्षति पुर्याएका ऐतिहासिक तथा धार्मिक संरचना भने पुरातत्व विभागको सहकार्यमा पुनःनिर्माण प्राधिकरण र नगरपालिकाले पुनःनिर्माण गर्न लागेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!