तीन खर्ब ३३ अर्ब बेरुजु, चालू खाता र भुक्तानी सन्तुलन घाटामा, व्यापार घाटा उच्च

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौँ | विभिन्न मन्त्रालय र सरकारी निकायले समयमै बेरुजु फछ्र्योट नगर्दा बेरुजुको रकममा अधिक वृद्धि भइरहेको छ । अघिल्लो आर्थिक वर्षको बेरुजु रकम रु तीन खर्ब ७७ अर्ब ४८ करोड फछ्र्योट हुन बाँकी रहेको सरकारले बताएको छ । 

सङ्घीय संसद्को प्रतिनिधिसभामा आज प्रस्तुत भएको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति र संस्थान समेतबाट उक्त रकम फछ्र्यौट हुन बाँकी छ । 

छब्बीस सार्वजनिक संस्थान नाफामा

सञ्चालनमा रहेका ३७ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा रहेका छन् । नाफामा सञ्चालन भएका ती संस्थानहरूबाट अघिल्लो आबमा रु नौ अर्ब ८९ करोड लाभांश प्राप्त भएको थियो भने रु ९४ अर्ब सात करोड राजश्व सङ्कलन भएको थियो । 

उपभोक्ता मुद्रास्फीति

चालू आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । 

त्यसैगरी मुलुकको वित्तीय संरचना क्रमशः विस्तार हुँदै गएको छ । चालू आवको चैतसम्ममा वित्तीय क्षेत्रमा पहुँच अभिवृद्धि भएको छ भने वित्तीय कारोवारमा पनि उल्लेख्य विस्तार भएको छ । 

गत वर्षको चैत मसान्तसम्ममा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, तथा ९१ लघुवित्त वित्तीय संस्था गरी १७५ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । त्यसैगरी एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा आएको छ भने ४० बीमा कम्पनी, ३४ हजार ७३७ (बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या १३ हजार ९१७, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र हुलाक बचत बैंक सञ्चालनमा छन् । चालीस बीमकमध्ये १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालन भइरहेका छन् । ती बीमा कम्पनीको कूल वित्तीय स्रोत तथा उपयोग रु तीन खर्ब १३ अर्ब ८९ करोड पुगेको छ । 

साथै ती कम्पनीको बीमा शुल्क आम्दानी पनि बढ्दै गएको आर्थिक सर्वेक्षण उल्लेख छ । अघिल्लो आवमा १८ प्रतिशत जनसङ्ख्यामा सीमित रहेको बीमाको पहुँच चालू आवको अन्त्यसम्ममा २० प्रतिशत जनतामा पुर्याउने सरकारी लक्ष्य छ । 

व्यापार घाटा उच्च

लामो समयदेखि नेपालमा वस्तु तथा सेवाको निर्यातभन्दा आयात उच्च हुँदै गएकाले व्यापार घाटा बढिरहेको छ । सरकारले आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिलाई प्रोत्साहन गरे पनि आयातमा कमी र निर्यातमा सुधार हुन सकेको छैन । 

चालू आवको प्रथम आठ महीनामा वैदेशिक व्यापार २३.२ प्रतिशतले बढेर रु १० खर्ब १० अर्ब ३३ करोड पुगेको छ भने रु ६१ अर्ब ६२ करोड बराबरको वस्तु निर्यात भएको छ । वस्तु आयात २३.८ प्रतिशतले बढेर रु नौ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ भने व्यापार घाटा २४.५ प्रतिशतले बढेर रु आठ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । भुक्तानी सन्तुलन रु ५८ अर्ब ९९ करोडले घाटामा छ । 

त्यसैगरी आयातमा उच्च वृद्धि भएका कारण चालू खाता र तथा शोधनान्तर घाटामा वृद्धि भएको छ । चालू खाता एक खर्ब ९१ अर्ब १२ करोडले घाटामा रहेको छ । विप्रेषण आप्रवाह भने २३.४ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८२ अर्ब १९ करोड रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा विदेशबाट रु चार खर्ब ७१ अर्ब ८५ करोड प्राप्त भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!