प्रदेश नं ५ मा नीति कार्यक्रम बहुमतले पारित

Posted on: 27 May, 2019

जेठ १३, खस्यौली । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेर पारित भएको घोषणा गर्नुभयो । 

प्रस्ताव प्रस्तुत गर्दा सत्ता पक्षका प्रदेशसभाका सदस्य नै झुक्किएपछि सभामुख घर्तीले दोह¥याएर प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सभामुख घर्तीले भन्नुभयो, “प्रस्तावक माननीय सदस्य नै भ्रममा पर्नुभएको छ, त्यसैले म दोहो¥याएर भन्छु ।”

यसअघि विपक्षी नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले प्रदेशसभामा दर्ता गराउनुभएको नीति कार्यक्रममाथिको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभाका सदस्यले राखेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले आयोजना, कार्यक्रमको प्राथमिकीकरण र आवधिक योजनामा आधारित भएर प्रदेश सरकारको नीति कार्यक्रम आएको उल्लेख गर्दै मनोगत लहडमा आएको होइन भन्नुभयो । 

उहाँले प्रदेशको अधिकार क्षेत्रभित्र केन्द्रित रहेर र प्रदेशसभाका सदस्यसँग भएको छलफलका आधारमा नीति कार्यक्रम ल्याइएको जानकारी दिँदै विपक्षीले खुलेर प्रशंसा नगरे पनि मौन बस्दा राम्रो हुन्थ्यो भन्नुभयो । मुख्यमन्त्री पोखरेलले अधुरा खानेपानी योजनालाई पूरा गर्ने अभियानका साथ नीति कार्यक्रमले सम्बोधन गर्न खोजेको बताउनुभयो । 

प्रदेशसभाका सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले नीति कार्यक्रमले विगतको कामको समीक्षा गरेको छ भन्नुभयो । अर्का सदस्य विष्णु पन्थीले सरकार निजी क्षेत्र र सहकारीको सहकार्यमा नीति कार्यक्रम आएको उल्लेख गर्दै प्रादेशिक क्षेत्रीय सन्तुलनको विकासलाई ध्यान दिइएको बताउनुभयो । 

प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले बहुआयामिक र दीर्घकालीन दृष्टिकोणका आधारमा नीति कार्यक्रम आएको जिकिर गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने दीर्घकालीन सोचमा आधारित भएर नीति कार्यक्रम आएको उल्लेख गर्नुभयो । अर्का सदस्य दीपेन्द्रकुमार पुनले नीति कार्यक्रमलाई बजेटले पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा प्रदेशसभाका सदस्य दधिराम न्यौपाने, कल्पना पाण्डे, रमा अर्याल, पुष्पा थारू, सहसराम यादव, चेतनारायण आर्चायलगायत अधिकांशले नीति कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!