चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्ने स्थान अभावको समस्या अन्त्य गर्न सरकरले चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ । 

सङ्घीय संसदको संयुक्त बैठकमा आज आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चोभारमा प्रदर्शनीस्थलसहितको सुख्खा बन्दरगाह, रसुवागढीको सुख्खा बन्दरगाह र भैरहवा तथा नेपालगञ्जको अन्तर्राष्ट्रिय ‘चेकपोष्ट’ निर्माण कार्य शुरु गरिने बताउनुभयो । 

त्यस्तै मुस्ताङको नेचुंग र ताप्लेजुङको ओलाङगचुङगगोलामा भन्सारको पूर्वाधार विकास गरिने सरकारको तयारी छ । उत्तरतर्फका अन्य व्यापारिक नाकामा समेत पूर्वाधार विकास गरिने बजेटमा उल्लेख गरिएको छ । बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न निर्यात प्रवद्र्धनका अतिरिक्त अनावश्यक आयात घटाउन ‘सेफगार्ड’, ‘एण्टिडम्पिङ’ र ‘काउन्टरभेलिङ’ कानूनको प्रभावकारी कार्यान्वयन गरिने बजेटमा व्यवस्था गरिएको छ । 

स्वदेशी उत्पादनको नेपाल गुणस्तर सुनिश्चित गरी बजार अनुगमन प्रभावकारी बनाइने, नक्कली गुणस्तर चिह्न प्रयोग गरी गुणस्तरहीन वस्तु विक्री वितरण रोक्न प्रभावकारी अनुगमन गरिने बजेटमा उल्लेख गरिएको छ ।  अर्थमन्त्री डा खतिवडाले द्विपक्षीय तथा बहुपक्षीय व्यापार सन्धिको पुनरावलोकन, सडक, जल तथा रेल्वे सम्झौतामा समयानुकूल परिमार्जन र नयाँ सम्झौता गरी विश्व बजारमा नेपाली उत्पादनको पहुँच वृद्धि गरिने बताउनुभयो । 

नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिई चीनको बन्दरगाहमार्फत तेस्रो मुलुकसँगको व्यापार शुरु गरिने बजेटमा उल्लेख गरिएको छ । 

उहाँले पेट्रोलियम पदार्थको आपूर्ति सहज तुल्याउन निर्माणाधीन अमलेखगञ्ज–रक्सौल–मोतिहारी खण्डको पेट्रोलियम पाइप विच्छाउने कार्य यसैवर्ष सम्पन्न गरी पेट्रोलियम पदार्थको आयातलाई सहजीकरण गरिने बताउनुभयो । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रु ११ अर्ब ७४ करोड विनियोजन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!