नागरिकलाई सहज सेवा दिन सहायता कक्ष

Posted on: 10 Jun, 2019


सुशीला रेग्मी

, २७ जेठ,बेझाड| (राससरामपुर नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नागरिकलाई छिटोछरितो रुपमा सहज सेवा दिने गरी वडा नं ७ को कार्यालयले नगरपालिकामै पहिलो पटक यो सेवाको शुरुआत गरेको छ ।

नागरिक सहायता कक्ष सञ्चालनमा आएपछि सेवा लिन सजिलो परेको सेवाग्राही वसन्त श्रेष्ठ बताउनुहुन्छ । उहाँले पहिला एक निवेदनका लागि बाहिर व्यक्तिसँग रु एक सय शुल्क तिरेर लेख्दै आउनुभएको थियो । “वडाले नागरिक सहायता कक्ष शुरु गरेपछि अन्यत्र निवेदन लेख्नका निम्ति धाउनुपर्ने बाध्यता हटेको छ, सजिलैसँग वडा कार्यालयबाटै सेवा पाएका छौँ”, उहाँले भन्नुभयो ।नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउँदै छिटो र सहज सेवा प्रदान गर्न यो सेवा शुरुआत गरेको वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताउनुहुन्छ । “वडाका सबै जनप्रतिनिधि, कर्मचारीलाई परिचालन गरेर सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा प्रदान गरिरहेका छौँ, सेवाग्राही यस सेवाबाट सन्तुष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

  नगरपालिकाको कार्यालयबाट सेवा दिँदै आएको वडाले गएको मङ्सिर १ गते वडा कार्यालय स्थापना गरेसँगै यो सेवा शुरु गरेको हो । अहिले वडा कार्यालयमा पुग्ने सर्वसाधारण नागरिकले सहज रुपमा सेवा लिन पाएपछि खुशी छन् । घरायसी काम सकाएर वडा कार्यालयमा जाँदा सजिलोसँग कार्यालयले पुग्ने बित्तिकै सेवा दिएको देवी भट्टराई बताउनुहुन्छ । 

“सामान्य निवेदन लेख्न आफूले नजानेपछि गाउँमा जाने बुझेका मान्छे खोज्नु प¥यो, भनेको समयमा कहिले काम हुन्थ्यो कहिले रित्तै फर्कनुपथ्यो, अहिले त निवेदन लेख्न, योजनाका कागजत पत्र मिलाउन अरूलाई गुहार्नु परेको छैन”, उहाँले भन्नुभयो । कलम चलाउनै नसक्नेलाई लेखिदिने, कलम चलाउन सक्ने सेवाग्राहीलाई निवेदन लेख्ने ढाँचा सिकाउन थालेपछि अर्को पटक उनीहरु आफैँ नै निवेदन लेख्न सक्षम बनेको वडा सचिव गीता पौडेल बताउनुहुन्छ । यसले सेवाग्राहीलाई सजिलो हुनुका साथै काम पनि छिटो हुँदै गएको  छ। 

धेरैजसो नागरिकले निवेदन लेख्नमा नै सास्ती खेपिरहेका थिए । यो सेवा शुरु भएपछि वडा कार्यालयमा पुगेको दश मिनेटमा नै सबै काम सकेर फर्कने गरेको रिमबहादुर राना बताउनुहुन्छ । नगरका दश वडामध्ये ७ नं वडाबाट यो सेवा शुरु भएको छ । नगरपालिकाका सबै वडा कार्यालयमा नागरिक सहायता कक्षा सञ्चालन गरेर सेवाग्राहीलाई सहज सेवा दिन अनुरोध गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । नगरवासीले गुनासो गर्न नपाउने गरी सेवालाई छिटो छरितो बनाउने प्रयास भइरहेको उहाँको भनाइ थियो । 

वडाका विभिन्न योजना, निवेदन जस्ता कुरामा नागरिकले ध्यान नदिँदा सामान्य कामका लागि पटक पटक वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा धाउनु परेको छ । धेरैजसो नागरिक भने निवेदन लेख्नमा नै अलमलिने गरेको पाइएको छ ।

एघार लाखको अक्षयकोष

रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा रु ११ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । जापानी नागरिक र स्थानीयवासीले गरी रु ११ लाख ६० हजार १०० रकम अक्षयकोष स्थापना गरिदिएका छन् । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) मार्फत रु नौ लाख रकम प्राप्त भएको छ । 

रामपुरका स्थानीयवासी दोवराज तिवारीले आफ्ना छोराको सम्झनामा रु एक लाख जनक स्मृति अक्षयकोष, झपेन्द्र न्यौपानेले आफ्ना छोरा दीपक न्यौपानेको सम्झनामा रु एक लाख अक्षयकोष स्थापना गरिदिनुभएको छ ।त्यस्तै चापाकोट नगरपालिका स्याङ्जाका स्व कृष्णप्रसाद आचार्य बेदुका, उहाँका श्रीमतीहरु सीतादेवी आचार्य र नारायणी आचार्यको सम्झनामा रु ६० हजार बराबरको अक्षयकोष स्थापना भएको छ । उहाँका छोरीहरु तारादेवी पोखरेल, तुलसी भट्टराई, हरि रेग्मी, प्रवीणा अधिकारी, मुना भट्टराई र गीता लम्सालले आँखा उपचार केन्द्रका लागि सो रकम अक्षयकोष स्थापना गरिदिनु भएको हो । अक्षयकोष रकम गरीब, दीनदुःखी तथा असहाय बिरामीको उपचारमा खर्च गरिने केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी  दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!