ढोरपाटनमा तत्काल विद्युत परियोजनाको काम सुरु गर्न अनुरोध

Posted on: 17 Jun, 2019

कमल पौडेल असार २,बागलुङ | ढोरपाटन क्षेत्रमा सञ्चालन हुने भनिएको ८ सय २८ मेगावाट क्षमताको उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना अन्योलमा परेको भन्दै जिल्ला समन्वय समिति बागलुङले योजना सुरु गर्न सरकारलाई आग्रह गरेको छ। आइतवार ढोरपाटन नगरीमै बैठक वसि निसिखोला गाउँपालिकामा निर्माण गर्ने गरि संभाव्यता अध्ययन भैसकेको आयोजना सुरु गर्न केहि वाधा उत्पन्न भएको सुचना आएको भन्दै तत्काल आवश्यक पक्षसंग समन्वय गरि तोकिएकै स्थानमा परियोजना सुचारु गर्न माग गरेको हो।

पहिलो पटक ढोरपाटन उपत्यकामै वसेको बैठकले जिल्लामा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुलाई द्रुत गतिमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। जिल्लामा मध्यपहाडि लोकमार्ग, कालिगण्डकी करिडोर लगाएतका आयोजनाहरु सञ्चालन रहेका छन् । ठूलाआयोजनामै कार्य सम्पादनमा ढिला सुस्ती भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित आयोजनाहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सडक, पुल, स्वास्थ्य चौकी भवन लगाएतका भौतिक योजनाहरुमा ढिला सुस्ती भएको तथा कमसल भएको गुनासो आएको भन्दै सम्झौता अनुसार समय र गुणस्तरमा सम्पन्न गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकले पर्यटकिय नगरी ढोरपाटनमा गण्डकी प्रदेशको मन्त्रिपरिषद्को वैठक राख्न अनुरोध गर्ने निर्णय गरेको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, उपप्रमुख विष्णु भुसालले ढोरपाटनको महत्व तथा सम्भाव्यता को सन्दर्भमा प्रकाश पार्नुभएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!