पुरुषको तुलनामा महिलाको बैंक खाता आधा

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौं । ‘सबैको बैंक खाता’अभियान घोषणा भए पनि हालसम्म १ करोड ९२ लाख (जनसंख्याको ७४ प्रतिशत) मात्र सक्रिय बचत खाता पाइएको छ । त्यसमध्ये महिलाको नाममा २६ प्रतिशत र पुरुषको नाममा ४८ प्रतिशत बचत खातामा सक्रिय रूपमा कारोबार भएको छ । यद्यपि, एकै जनाको नाममा विभिन्न बैंक र वित्तीय संस्थामा अनेकौं खाता रहने गरेकाले सक्रिय बैंक खाता भएको वास्तविक जनसंख्या यसभन्दा निकै कम रहेको छ ।

नेपाल राष्ट्र बैंकको गत चैत मसान्तको तथ्यांक अनुसार देशका बैंक तथा वित्तीय संस्थामा महिलाको नाममा ६७ लाख २ हजार र पुरुषको नाममा १ करोड २५ लाख ४० हजार बचत खाता सक्रिय रूपमा सञ्चालित छन् । बैंक तथा वित्तीय संस्थामा हालसम्म कुल २ करोड ३० लाख खाता (जनसंख्याको ८९ प्रतिशत) खोलिएका भए पनि ती सबै सक्रिय छैनन् ।

एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैंकमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा सबै खाता सक्रिय हुन नसकेको छैन | कतिपय बैंकले अझ शून्य मौज्दातमा नै खाता खोल्ने योजना ल्याएका छन् । त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि ती खातासमेत निष्क्रिय भएका छन् ।

बैंक तथा वित्तिय संस्थाको पहुँच देशभर बढ्दै गएकाले अब सर्वसाधारणले खाता खोल्ने क्रम तीव्र हुने आकलन गर्न सकिन्छ |  तीन वर्षसम्म नगद राख्ने र झिक्ने नगरेमा बचत खातालाई स्वतः निष्क्रिय मानिन्छ । चल्ती खाता र कल खाता भने ६ महीनासम्म कारोबार नभएपछि निष्क्रिय हुन्छन् । -आर्थिक अभियान दैनिकमा यो समाचार छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!