सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई आईएसओ ९००१:२०१५ मान्यता

Posted on: 03 Jul, 2019

असार १९, काठमाण्डौं । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । केन्द्रले ६ जेठमा आईएसओ ९००१:२०१५ प्राप्त गरेको हो । प्रमाणपत्र प्राप्त भएपछि नेपालमै तालिमको आन्तरिक गुणस्तर बढ्ने र अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त हुने केन्द्रका तालिम प्रमुख दामोदर रेग्मीले बताए ।

सार्वजनिक वित्तका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि २०३७ सालमा अर्थ मन्त्रालय अन्तर्गत विभाग स्तरको संस्थाका रुपमा केन्द्र स्थापना भएको हो ।

केन्द्रले स्थापनाकालदेखि नै यस क्षेत्रमा कार्यरत जनशक्तिलाई सेवा प्रवेश, सेवाकालीन तथा अल्पकालीन तालिम सञ्चालन गर्नुको साथै जनशक्ति विकासलक्षित विविध गतिविधि गर्दै आएको छ । केन्द्रद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमलाई गुणस्तरीय एवं विश्वसनीय बनाउन तथा लाभग्राहीको आवश्यकताबमोजिम आफ्ना क्रियाकलापलाई परिष्कृत गर्दै लान तालिम केन्द्र लागिपरेको बताएको छ ।

आईएसओ प्राप्त गरेर तालिम केन्द्रको तालिमलगायतका अन्य कार्यक्रममा गुणस्तरसम्बन्धी मापदण्डले अपेक्षा गरेका गुण सूचक परिपालना गरेको विषय प्रमाणीकरण भएको केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!