दाङको घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौं | दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित भएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजीत एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो । 

उक्त मैत्रीपूर्ण सम्बन्धमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख कइहुइ सोङले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा घोराही उपमहानगरा प्रमुख नरुलालले आफ्नो मन्तव्य राख्दै कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको जानकारी दिए ।

यान सिटी र घोराही उपमहानगर बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि घोराहीको विकासका लागि यान सिटिले मद्दत गर्ने अपेक्षा गरिएको छ । यान सिटिका मेयरले आफ्नो मन्तव्यको क्रममा घोराही उपमहानगरलाई चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्नसक्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले चीन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने बताए । उनले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि समेत निमन्त्रणा दिएका छन् । सोमबार चीन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ।


तस्वीर : देवीका घर्ती मगर

यस बिषयमा तपाइको प्रतिक्रिया...!