तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण

Posted on: 19 Jul, 2019

साउन  ३, तनहुँ  | तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । 

ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । “विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो”,उहाँले भन्नुभयो ।

सरकारले आर्थिक वर्ष ०७५-७६ को बजेट तथा कार्यक्रममा विपद् व्यवस्थापन र खोज उद्धारकार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने उल्लेख गरेको थियो । 

सोही निर्णयबमोजिम जिल्लास्थित भिमाद नगरपालिकामा सात, आँबुखैरेनी गाउँपालिकामा ६, व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भानु नगरपालिकामा १२, देवघाट गाउँपालिकामा ६, रिसिङ गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४ र बन्दीपुर गाउँपालिकामा ६ ठाउँमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिमाद नगरपालिका–२ को थुम्सिङ, करङश्वारा, खोराकी, ८ को कोखे, ४ को पार्वती मावि, १ को काउले र ५ को घारुङभञ्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ को मित्रता मावि, २ को ढकालटार, ३ को रामशाह मावि, ४ को पावरहाउस मावि, ५ को भुजुवा सतिडाँडा र ६ को हिलेखर्कमा हेलिप्याड निर्माण गरिएको छ । 

त्यस्तै व्यास नगरपालिका–१४ को केशवटार उमावि, ७ को बोटेटार, १२ को कर्लुङ, ११ को धानगोदाम, ८ को वडा भवन र पुलिमराङ, ६ को शिशाघाट, ३ को जिल्ला प्रशासन कार्यालय अगाडि, ५ को कृष्णदल गण चापाघाट व्यारेक र १ को निर्मल मावि प्राङ्गणमा हेलिप्याड निर्माण गरिएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को गैछीश्वारा र अन्तरराष्ट्रिय युवा वर्ष प्रावि, १२ को जनप्रेमी उच्च मावि, ११ को आधारभूत मावि, ४ को नगरपालिका प्राङ्गण, श्री नं ३ बाहिनी अड्डा, ५ को झरौटा र २ को एक्लेखेतमा हेलिप्याड निर्माण गरिएको छ । भानु नगरपालिका–२ को मनकामना गण, १ को भन्सार खेलमैदान, ९ को काउरेटार र कालिका बहुमुखी क्याम्पस, ८ को मनोहर मावि प्राङ्गण, ७ को वसन्तपुर, १३ को ठूलोढुङ्गा खेलमैदान, ११ को मायाकु राष्ट्रिय मावि, १२ को अर्चले खेल मैदान र १ को हात्तीचौर व्यारेकमा हेलिप्याड निर्माण गरिएको छ ।

यसैगरी देवघाट गाउँपालिका–४ को पार्वती मावि, ३ को वडा कार्यालय नजिक, ५ को केरीफाँट र पिपलटार, २ को कोटवैदी र डिही, रिसिङ गाउँपालिका–१ को शुक्ला मावि र शहीद गङ्गा मावि प्राङ्गण, ७ को पोखरीभञ्ज्याङ, ४, ८ को बडगाउँ र ५ को सुशेभञ्ज्याङ, घिरिङ गाउँपालिका–१ को अत्रौली, ५ को वडा भवन, ४ को गड्यौलीमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिनुभयो ।

त्यस्तै म्याग्दे गाउँपालिका–४ को गणेश मावि, ७ को तिलाटार, २ को पिपलडिही र ३ को सुरौदीखोला तट र बन्दीपुर गाउँपालिका–४ को टुँडीखेलमा हेलिप्याड निर्माण गरिएको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!