श्रमदानमा पक्की कुलो निर्माण

Posted on: 23 Jul, 2019

साउन ७, पाल्पा   | निस्दी गाउँपालिका–६ अर्चलेका स्थानीयवासीको श्रमदानमा ‘पक्की कुलो’निर्माण गरिएको छ । कच्ची कुलोले सिँचाइ सुविधा पु¥याउन कठिन परेपछि स्थानीयवासीले श्रमदान गरेर पक्की कुलो निर्माण गरेका हुन् । पार्कुला र चिदिबयाको बीच भागमा पर्ने बोगादी खोलामा बाँध बाँधेर ल्याइएको बोगादी कुलो पक्की निर्माण गर्ने काम हालसालै सम्पन्न भएपछि धान रोपाइँ गरिएको छ । 

एक रोपनी क्षेत्रफल बराबर चार जना उपभोक्ता गरी जम्मा २८० जनाको श्रमदानमा कुलो निर्माण गरिएको अनुगमन समितिका संयोजक कृष्णबहादुर सुनारीले बताउनुभयो ।

“उपभोक्ताको श्रमदान र लगानीमा राम्रोसँग काम भएको छ, अब सिँचाइको समस्या समाधान हुँदै जानेछ”,उहाँले भन्नुभयो । यसले बोगादी कुलोबाट, मडाम्दी, पार्कुला र ड्याङ्गबारी क्षेत्रका ७० रोपनी जमीनमा सिँचाइको राम्रो सुविधा पुग्ने सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर मश्राङ्गीले बताउनुभयो । 

उहाँका अनुसार कुलोबाट यहाँका २५ घरधुरीका कृषक लाभान्वित हुनेछन् । स्थानीयवासीको श्रमदान र उनीहरुबाट उठाइएको रकमले मात्र काम सम्पन्न नहुने भएपछि गाउँपालिकाबाट सहयोग माग गरिएको उपभोक्ता समितिले जनाएको छ । कुलो निर्माणमा गाउँपालिकाले रु चार लाख ५० हजार रकम सहयोग गरेको छ ।

उपभोक्ताबाट प्रतिरोपनी रु ८०० रकम गरी कूल पाँच लाखको लागतमा कुलो निर्माण गरिएको उपभोक्ता समितिका सदस्य मीनबहादुर मश्राङ्गी बताउनुहुन्छ । “कुलो भरिने पानी लगायो, बीचमै चुहिएर खेतको मुहानमै नपुग्ने, कृषकलाई बालीनाली लगाउने बेला बर्सेनी समस्या परिराखेको थियो”, उहाँले भन्नुभयो ।

मूल कुलोको अन्तिम स्थान ड्याङ्बारी क्षेत्रबाट दुई वटा कुलोमा पानी विभाजन गरेर खेतमा सिँचाइका लागि लगिएको छ । ड्याङ्बारी क्षेत्रमा पुग्ने दुई सय मिटर र पार्कुला खेतमा पुग्ने तीन सय मिटर खेतमा सिँचाइका लागि लगिएको कच्ची कुलोलाई पक्की गर्न गाउँपालिकासँग रकम माग गर्ने समितिले जनाएको छ ।

गाउँमा पक्की कुलो निर्माण सम्पन्न भएपछि धान, गहँु, तोरी, तरकारी लगायतका बालीनालीको उत्पादन सजिलैसँग लिन पाइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!