एनएमबि म्युचुअल फण्डका २ इकाइको लाभांश घोषणा, तेस्रो म्युचुअल फण्ड ‘एनएमबी–५०’ आउंदै

Posted on: 28 Jul, 2019

साउन १२, काठमाण्डौ। एनएमबी क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ लन्च गरेको छ । लगानीकर्तालाई राम्रो लाभांश वितरण गर्ने लक्ष्य सहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ लन्च गरेको जनाएको छ । 

यो म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको सेयरहरुमा मात्र केन्द्रित हुने जनाइएको छ । लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केशीले लगानी रकमको उचित प्रतिफल दिन तयार रहेको बताए ।


यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य रु.१० अंकित १२ करोड इकाइ भोलि(साउन १३ गते) बाट बिक्री खुला हुनेछ । जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड बीस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिने जनाइएको छ। 

छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ । 

दुई इकाइको लाभांश घोषणा

एनएमबि म्युचुअल फण्डका दुई इकाइको लाभांशको घोषणा भएको छ । संचालक समितिको बैठकले सेयरधनीलाई गतवर्षको कारोबारबाट मुनाफाका आधारमा लाभांशको घोषणा गरेको हो ।

एनएमबि सुलभ इकाई १ का इकाइधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि हाइब्रिड फण्ड १ बाट कर सहित १० प्रतिशतको दरले लाभांश दिने एनएमबी क्यापिटलका सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!