अन्तर्राष्ट्रिय लगानी नआए निजगढ विमानस्थल सरकार आफैंले बनाउने पर्यटनमन्त्रीको दाबि

Posted on: 13 Aug, 2019

साउन २८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताएका हुन् ।

‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन’, उनले भने, ‘वार्षिक २०/२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।’ मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ । आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गरे ।

राजनीतिक प्रतिवद्द्ता र सरकारले आयोजनालाई महत्त्व दिएको देखाउनसमेत शिलान्यास आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले अब चाहिँ आयोजना बनाउछ है भन्ने प्रतिवद्दता देखाउन समेत शिलान्यास हुन्छ’, उनले भने ।

निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश गर्न नभई विमानस्थल बनाउन आएको उल्लेख गरे । यस विषयमा पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच बुधबार छलफल हुदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!