एक करोडको लगानीमा सावुन उद्योग संचालन

Posted on: 01 Sep, 2019

भदौ १५, पर्वत । पर्वतमा एक युवाले झण्डै १ करोडको व्यक्तिगत लगानीमा सावुन उद्योग संचालन गरेका छन् । कुश्मा नगरपालिका १ पाङ भट्टेखेतका २२ बर्षिय योगराज अधिकारीले कुनपा ४ गुफाचोकमा कालिगण्डकी सावुन उद्योग संचालन गरेका हुन् ।

२०७० साल भदौं महिनामा २२ लाखमा उनले उद्योग शुरु गरेका थिए ।  अहिले आइपुग्दासम्म उद्योगको पुर्जी ८० लाख पुगेको उनी बताउँछन् । उद्योगबाट लुगा धुने साबुन सफा व्राण्ड र फोमी डिटर्जेन्ट पाउडर मात्रै अहिले उत्पादन हुने गरेको छ । दैनिक एक सय कार्टुन सावुन उत्पादन गर्दै आएका अधिकारीले उद्योगलाई अझै बृद्धि गर्ने सोच बनाएका छन् ।उत्पादीत सावुन कुश्मा, बाग्लुङ र म्याग्दीमा खपत हुने गरेको छ । मासिक रुपमा ५ देखि ६ हजारसम्म कार्टुन बजारमा खपत हुने गरेको अधिकारीले बताए ।

पाँच जनालाई रोजगारी समेत दिएका अधिकारीले मासिक रुपमा सवै खर्च कटाउँदा डेढ लाख मुनाफा हुने गरेको बताउँछन्  | सावुन उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ  रिठ्ठा, चिउरीको घिउ, सल्लाको खोटो प्रयोग हुदै आएको छ । सल्लाको खोटो पोखरा र अन्य कच्चा पदार्थ भने धौलागिरी भित्रैबाट आयात हुने गरेको छ ।

राज्यबाट अनुदानको रुपमा घरेलु तथा साना उद्योग विकास समिति पर्वतबाट उनले ८० हजार मात्रै पाएका छन् । भने उद्योग मन्त्रालयसम्म धाउँदा आफूले कुनै रेसपोन्स नपाएको अधिकारीको गुनासो छ । अधिकारीले सावुन उद्योग मात्रै नभइ आफ्नो गाउँ पाङमा १५० वटा तरकारीका टनेल समेत  हालेको बताउँछन् । आफ्नो काममा परिवारले शुरुमा साथ नदिएपनि अहिले साथ दिने गरेको उनले बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!