श्रम मन्त्रालयको विदेश भ्रमण खर्च- १ करोड १५ लाख, उपलब्धि के ?

Posted on: 01 Sep, 2019

मनोज पराजुली | भदौ १५, काठामाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ वर्षमा नै विदेश भ्रमणमा १ करोड भन्दा धेरै रकम खर्च गरेको छ । श्रम मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ मा बैदेशिक भ्रमण विवरण अन्तर्गत विभिन्न शिर्षकमा १ करोड १५ लाख २१ हजार ८ सय ६१ रुपैयाँ खर्च गरेको हो । 

नेपाल सरकारले व्यहोर्ने यी रकम बाहेक अन्य केहि कार्यक्रमका लागि गैर आवाशीय नेपाली संघ, अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ), एसियाली विकास बैंक लगायतले समेत खर्च व्यहोरेका छन् । 

श्रम मन्त्रालयले एउटै भ्रमणमा ३४ लाखसम्म खर्च गरेको पाइएको छ । मन्त्रालयको टोलिले १०८ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जाँदा मात्र ३४ लाख २१ हजार १ सय ८५ रुपैंया खर्च गरेको छ । अन्तराष्ट्रिय श्रम मापदण्डहरुको कार्यान्वयन अवस्थाबारे नेपालले लिएका पहल/कदमी बारे अन्तराष्ट्रिय समुदायलाई जानकारी भएको विषयलाई श्रम मन्त्रालयले उक्त भ्रमणको उपलब्धिको रुपमा लिएको जनाएको छ । 

मन्त्रालयले मोरक्कोमा जीसीएमसहित जीएफएमपी (ग्लोबल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट) सम्मेलनमा सहभागी हुँदा २० लाख ५० हजार रकम खर्च गरेको छ । अति विशिष्ट सहित ४ जनाको टोली उक्त बैठमा सहभागी हुँदा सो रकम सकिएको हो ।

श्रम मन्त्रालयको टोली आइएलओको विभिन्न बैठक, अध्ययन भ्रमण लगायत विभिन्न देशसंगको श्रम समझदारीको लागि विदेश भ्रमणमा अन्य खर्च भएको पाइएको छ । तर श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मी अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु कोलम्बो प्रोसेस, आइएलओको गभर्नेन्स बडी लगायतमा अनिवार्य सहभागी हुनुपर्ने दायित्व भएकोले उक्त रकम खर्च भएको  बताए । 'हामीले अध्ययन भ्रमण गरेर खर्च गरेका छैनौं त्यो विवरण देखिन्छ' उनले भने ।

मन्त्रालयले फिलिपिन्स भ्रमणको उपलब्धिको रुपमा रोजगारी सृजनालाई राखेको छ तर त्यसको सार्थकता भने देखिएको छैन । श्रम मन्त्रालयका ५ जनाको टोलीले कुवेत भ्रमणमा ६ दिनमै १० लाखसम्म रकम अध्ययन भ्रमणका नाममा सकेको पाइएको छ ।

थाइल्याण्ड, युएई, फिलिपिन्स, स्विजरल्याण्ड, मलेसिया, जापान, संयुक्त राज्य अमेरिका, मोरक्को, कोरिया, इटाली, भारत, कतार, कुवेतको भ्रमणमा अति विशिष्ट व्यक्ति देखि राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीसम्म सहभागी भएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!