एनसेलको आयमा झण्डै ६ प्रतिशतले गिरावट

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौँ | लामो समयदेखि लाभकर विवादमा तानिएको एनसेललको आय २०१९ को पहिलो ६ महिनामा भण्डै ६ प्रतिशतले घटेको छ । 

एनसेलको माउ कम्पनी आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो ।

आजियाटाले आफु अन्तर्गतका कम्पनीहरुको पहिलो ६ महिनाको आर्थिक विवरण गत साता सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन अनुसार, २०१८ को ६ महिना (जनवरी देखि जुन) को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५.७ प्रतिशतले घटेको छ भने मोवाइल सेवा अर्थात कोर मोवाइल रेभिन्युमा ३.२ प्रतिशतको गिरावट भएको छ ।

त्यसैगरी सो अवधिमा एनसेलको अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा पनि १३.७ प्रतिशतले गिरावट आएको छ । भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोत हो । विभिन्न माध्यमहरुको उपलब्धता र प्रविधिमा आएको परिवर्तनले गर्दा विश्वव्यापी रुपमा नै दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइस र  अन्तर्राष्ट्रिय आगमन कलको आय घट्दो क्रममा रहेको छ ।

एनसेलको कुल आयमा गिरावट आएता पनि कम्पनीको डाटा सेवाको प्रयोग भने आक्रामक रुपमा बढेको देखिएको छ । कुल ग्राहक संख्यामा ४८.४ प्रतिशत एनसेल ग्राहकले डाटा सेवा लिएका छन् भने यो सेवाबाट हुने आम्दानीको कुल आयमा २२ प्रतिशतको योगदान रहेको प्रतिवेदनले देखाएको छ । कम्पनीको प्रति ग्राहक प्रति महिना डाटा खपत औषतमा ८९१ एमबि रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!