चितवन कालिका नगरपालिकाद्वारा चैतमा काम सक्ने गरी योजना

Posted on: 21 Sep, 2019

असोज ४, चितवन | आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो । 

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई असार मसान्तसम्म पु¥याउने परिपाटी अन्त्य गर्दै चालू आर्थिक वर्षबाट चैतलाई आर्थिक मसान्त मानेर काम गर्न थालिएको हो । यही असोज २ गते कार्यपालिकाको बैठक बसेर असोज मसान्तभित्र उपभोक्ता समिति निर्माण गरी काम अघि बढाउन लागिएको हो । गत वर्षमा वैशाखसम्म उपभोक्ता समिति गठन गर्ने गरिन्थ्यो । 

वडा कार्यालय र नगरपालिका कार्यालय भवनको बोलपत्र आह्वान भई काम अघि बढिसकेको भन्दै उहाँले बहुवर्षीयबाहेकका सबै योजना चैतमा सक्ने गरी काम अघि बढ्ने बताउनुभयो । आर्थिक वर्षको मसान्त असारमा भएको र सो समयमा वर्षात् हुने भएकाले धेरै योजना हतारमा सक्ने गर्दा काम कमजोर हुने गरेको छ । सबै वडा कार्यालयलाई चैतसम्ममा काम सक्ने गरी योजना बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

कुनै विशेष कारण चैतमा काम नसकिएमा वैशाख र जेठमा सुक्खा हुने भएकाले ती योजनालाई प्राथमिकता दिएर काम गर्न सकिने श्रेष्ठको भनाइ छ । कालिका नगरपालिकाको चालू आवको बजेट रु ७८ करोड रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!