२४३ उद्योग खारेज

Posted on: 10 Oct, 2019

असोज २३, दमौली (रासस) | घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।

उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । खारेज हुने उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । उद्योग खारेजी गर्न पनि उद्योग सञ्चालकले शुल्क तिरेर खारेजी गराउनुपर्ने प्रावधान रहेको छ । उद्योग खारेजी गर्दा प्रतिवर्षको पाँच हजार र नवीकरण गर्दा लाग्ने दस्तुरको तेब्बर दस्तुर तिरेर मात्र खारेजी गर्न सकिने प्रावधान छ ।

कार्यालयमा कूल आठ हजार ११५ उद्योग दर्ता भए पनि छ हजार ८९ उद्योग चालू अवस्थामा रहेका छन् । कार्यालय प्रमुख ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार १३५ उद्योग दर्ता भएको छ । उक्त अवधिमा उत्पादनमूलकतर्फ १४३, कृषि तथा वनजन्यतर्फ ४९९, सेवामूलकतर्फ २९५, पर्यटनमूलकतर्फ १९२, निर्माणतर्फ छ उद्योग दर्ता भएका छन् । दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको कार्यालयले जनाएको छ । 

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । “कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ”, ढकालले भन्नुभयो । 

जिल्लामा दर्ता भएका उद्योगमध्ये ८४ लघु, २३ घरेलु र एक हजार २८ साना उद्योग रहेका छन् । कार्यालयमा आर्थिक वर्ष ०७४/७५ मा ७८८ उद्योग दर्ता भएको थियो । जसमध्ये १४६ लघु उद्योग, ५९३ साना उद्योग र ४९ घरेलु उद्योग रहेका थिए ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगबाट वार्षिक रु एक अर्ब ४१ करोड दुई लाख २१ हजार ९२० बराबरको वस्तु उत्पादन हुन्छ । ती उद्योगमा एक हजार २८४ महिला र एक हजार ९९५ पुरुष गरी तीन हजार २७९ जनाले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ३०७ महिला र ९२५ पुरुष गरी एक हजार २३२ जना उद्यमी बनेका छन् ।

कार्यालयले उद्योग दर्ताबापत आर्थिक वर्ष ०७५/७६ मा रु एक करोड ५९ लाख ३० हजार ४७२ राजश्व सङ्कलन गरेको छ । दर्ता भएको एक हजार १३४ मध्ये ७३० उद्योगले नवीकरण, ६७ उद्योगले नामसारी, नौ उद्योगले ठाउँसारी, ३८ उद्योगले उद्देश्य थप, ६० उद्योगले लगत कट्टा गरेका छन् भने १०२ उद्योगले प्रतिलिपि र ५० उद्योगले पूँजीवृद्धि गरेका छन् ।

रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार १००, तीन लाखसम्म पूँजी भएकोले रु तीन हजार १००, रु पाँच लाखसम्म पूँजी भएकोले रु छ हजार १००, रु ५० लाखसम्म पूँजी भएकोले रु १२ हजार १००, रु एक करोडसम्म पूँजी भएकोले रु २० हजार १००, रु पाँच करोडसम्म पूँजी भएकोले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!