चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

Posted on: 12 Oct, 2019

रमेश लम्साल | असोज २५, काठमाडौँ | नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महीनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणसक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

गोरखा भूकम्पको त्रासदिपछि करीब चार वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग गर्यो । दुई देशबीचको मैत्री सम्बन्धको परिचयका रुपमा स्थापित रहेको अरनिको राजमार्गसमेत चिनियाँ सहयोगमा नै निर्माण भएको हो ।


चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि हुन लागेको दुई दिवसीय नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गको स्तरोन्नतिलगायतका विषयसमेत समावेश भएको जनाइएको छ । सो सडक विस्तार र स्तरोन्नति भएपछि दुई देशबीचको सम्बन्ध, आर्थिक विकास र विस्तारमा समेत थप नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ ।

सोही नाका खुलेपछि क्रमशः दुईदेशीय व्यापारमा नयाँ आयाम थपिएको छ । सोही नाकामा नै सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ । सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारका लागि सहज मात्रै बनाएको छैन । अत्याधुनिक सेवा सुविधासमेत पाएका छन् ।

प्राकृतिक विपत्तिले दिएको पीडामा आम नेपाली परिरहेका बेला चीनले खुला हृदयका साथ सहयोग गरेको थियो । तातोपानी नाका खुलेपछि काठमाडौँ ल्याउनुपर्ने सामान लामो समय लगाएर कोलकाता बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने समस्याकोसमेत अन्त्य भएको छ । रोजगारीका अवसरमा समेत वृद्धि भएको छ ।

नाका खुलेपछि उद्योगी व्यवसायीमा पनि ठूलो आशाको सञ्चार भएको छ । उनीहरु विगतको जस्तै नाका व्यस्त हुँदै गएको र व्यापार व्यवसाय फस्टाउँदै जाने अपेक्षामा रहेका छन् । भूकम्पबाट खण्डहर भएको सडक निर्माण भइरहेको छ । त्यसलाई थप विस्तार गर्ने नेपालको कार्यसूची छ । भूकम्पपछि निर्माण भएको नेपाल–चीन जोड्ने मितेरी पुल विगतकोभन्दा फराकिलो बनाइएको छ । भूकम्प र बाढीपहिरोका कारण तहसनहस भएको भोटेकोशीको किनार लार्चामा अत्याधुनिक भवन देखिन्छ । आकर्षक पुल तरेपछि देखिने भव्य भवन र संरचना सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ ।

चिनियाँ कम्पनी चाइना रेल्वे १४औँ ब्यूरो समूहले लार्चामा निर्माण गरेको सुक्खा बन्दरगाह कुनै अत्याधुनिक विमानस्थलभन्दा कम छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाहलाई सञ्चालनमा ल्याइसकेको छ । अत्याधुनिक संरचनासहितको उक्त पूर्वाधारले पनि व्यापार व्यवसायको प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ ।

कूल चार दशमलब दुई हेक्टरमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भन्सार रहेको क्षेत्रमा ६० देखि १०० मेट्रिकटनसम्म तौल गर्नसक्ने मेसिनसमेत जडान गरिएको छ । महाभूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो तथा हुटहुटी देखायो र समयमै काम भयो ।

यस्तै चीन सरकारको सहयोगमा नै केही दिन पहिलेदेखि रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण शुरु भएको छ । केही समयपछि निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ । कूल ३० महीनामा सम्पन्न गर्ने गरी बन्दरगाह निर्माण शुरु भएको छ ।

बन्दरगाह निर्माणका लागि जग्गा सम्याउने काम शुरु भएको छ । निर्माण व्यवसायीले निर्माण सामग्री आयात तथा बासस्थान निर्माणको काम शुरु गरेको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्स्ट्रक्सनले पाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यकपर्ने जग्गा सरकारले अधिग्रहण गरिसकेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीयको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी आठ हेक्टर जग्गा अधिग्रहण गरिएको छ । चिनियाँ लगानीमा चिनियाँ निर्माण व्यवसायीले नै काम गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

इन्टरमोडल यातायात विकास समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर उक्त सुक्खा बन्दरगाहको डिजाइन स्वीकृति गरेको थियो । बन्दरगाहामा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, प्रयोगशाला रहनेछ । यस्तै ३५० मालवाहक सवारी पार्किङ गर्न सकिने डिजाइनमा उल्लेख छ ।

भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपालतर्फ पनि  नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनःशिखरमा पुगेको छ । सोही नाका भएर केरुङ–काठमाडौँ रेलमार्ग र रातमाटे–केरुङ ४०० केभी प्रसारण लाइनसमेत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ । हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले मात्रै नभई समग्र देशले नै प्रत्यक्ष लाभ लिनसक्ने विश्वास छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञको बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालन लगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!