२०१९ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा दोश्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण

Posted on: 13 Oct, 2019

असोज २६, काठमाडौँ | विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्र दक्षिण एसियाको दोश्रो स्थानमा रहने प्रक्षेपेण गरेको छ । विश्वबैंकले २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । नेपालको यो वृद्धिदर अघिल्लो बर्षको तुलनामा ०.४ प्रतिशतले बढी हो । 

विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । प्रक्षेपणअनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल रहेको छ । 

विश्व बैंकको प्रक्षेपेण अनुसार आगामी वर्षहरुमा भने नेपालको आर्थिक वृद्धिदर केही घट्नेछ । नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।

दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर बंगलादेशले हासिल गर्ने देखिएको छ । सन् २०१९ मा बंगलादेशले ८.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यसपछिका वर्षमा भने बंगलादेशको आर्थिक वृद्धि पनि क्रमशः घट्ने अनुमान छ । 

प्रक्षेपेण अनुसार दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धिदर भने अफगानिस्तान, श्रीलंका र पाकिस्तानको रहने अनुमान छ । अफगानिस्तानको २.५, श्रीलंकाको २.७ र पाकिस्तानले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । दक्षिण एसियामा समग्र रुपमा ५.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ ।

सन् २०१९ भारतको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान विश्वबैंकको छ । 

नेपालमा खासगरी सेवा क्षेत्रमा भएको सकारात्मक वृद्धिले आर्थिक वृद्धिदरलाई सहयोग गरिरहेको विश्व बैंकको भनाइ छ । निर्माण क्षेत्रमा समेत निकै राम्रो प्रगति भइरहेको बैंकले उल्लेख गरेको छ । पर्यटक आगमनमा भएको वृद्धिले समेत आर्थिक वृद्धिदरमा सहयोग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!