बैतडीमा जनप्रतिनिधि आएपछि सडक निर्माणमा प्राथमिकता

Posted on: 14 Oct, 2019

असोज २७, बैतडी | बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् ।

निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका–१ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो । गुरुखोला, खालकलौन सडक निर्माणमा २० लाख खर्च भएको र १२ किलोमिटर सडक निर्माण गरिएको हो । 

यस्तै गुरुखोला –सतबाँझ तीन किलोमिटर सडक निर्माणमा तीन लाख, खालिकाचौर कैलपालमाडौँ सडक निर्माणमा १० लाख र पारिकलौन सडक निर्माणमा तीन लाख खर्च गरिएको वडा कार्यालयले जनाएको छ । स्थानीयवासीको मागअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखिएको वडाध्यक्ष भट्टको भनाइ छ । गुरुखोला खाल–कलौन सडकलाई द्यौमडासम्म विस्तार गर्न दुई करोडमा ठेक्का भएर कामसमेत भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । 

यस्तै पुराना सडकलाई पनि अढाई वर्षको अवधिमा स्तरोन्नति गर्ने काम भएको वडा कार्यालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका केही काम अघि बढेको छ । ग्रामीण सडक निर्माण हुँदा आफूहरुलाई कृषि उपज बजारसम्म पुर्याउन सजिलो भएको दशरथचन्द नगरपालिका–१ का परमानन्द भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूले फलफूलको नर्सरीसमेत स्थापना गरेकाले नर्सरीबाट उत्पादित बोटबिरुवा बिक्रीका लागि बजारसम्म पुर्याउन पनि सहज भएको छ ।” ग्रामीण सडकलाई छिट्टै स्तरोन्नति गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

गाउँमा सडक पुगेपछि बालबालिकादेखि वृद्धवृद्धालाई सजिलो भएको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन होस अथवा अन्य बिरामीलाई अस्पताल पुर्याउन सडकले सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले बताउनुभयो । सकेसम्म नागरिकका आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो । गाउँमा सडक पुगेपछि आफूहरुलाई निकै खुशी लागेको स्थानीय वयोवृद्ध शेरबहादुर पाण्डेले बताउनुभयो । “आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो । निर्माण गरिएका सडकलाई स्तरोन्नति गर्ने कार्य प्राथमिकतामा राखेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । वडाका सबै बस्तीमा सडक पुर्याउने आफ्नो योजना रहेकाले अहिले सडक निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । सडकसँगसँगै विकास निर्माणका अन्य काम पनि भइरहेका वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!