गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट शुरु

Posted on: 15 Oct, 2019

असोज २८, काठमाडौं । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । असोज २८ देखि ३० गतेसम्म हायात रिजेन्सी होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उत्घाटन गर्ने कार्यक्रम रहेको छ ।

'म, मेरो एन आर एन ए र मेरो नेपाल' मूल नाराका साथ शुरु हुने सम्मेलनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सहमतीय प्रयासमा नेतृत्व चयन प्रक्रिया हुन सम्भव नभएपछि अन्तत: कुल १२ पदमा ४२ जनाको लागि निर्वाचन हुने देखिएको छ। संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ ।


संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रीय समितिबाट एक/एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् ।

त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुनेछन् ।  एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुनेछन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।


सम्मेलन उत्घाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रिया सम्पन्न भई मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । मतदानमा विधुतीय प्रणाली अपनाइने भएकोले निर्वाचन सम्पन्न भएको एक घण्टा भित्रमा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!