एनआरएनएको युरोप क्षेत्र सह संयोजकमा शुक्रराज न्यौपानेको उम्मेद्वारी

Posted on: 16 Oct, 2019

असोज २९, काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) को युरोप क्षेत्र सह -संयोजकमा शुक्रराज न्यौपानेले उम्मेद्वारी दिएका छन् । गैरआवासीय नेपाली अभियानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै संघलाई 'हामी सबैको साझा संस्था हो' भन्ने अनुभूति गराउनका लागि युरोप क्षेत्र सह संयोजकमा उम्मेवारी दिएको उनले बताए ।  

विशेष गरि युरोप क्षेत्रमा लोकप्रिय मानिएका न्यौपानेले पर्यटन प्रबर्धन गरी नेपालको आर्थिक विकासमा सुधार गर्ने उदेश्यका उम्मेद्वारी दिएको बताएका छन् । आयरल्याण्डमा बस्दै आएका न्यौपानेले एनआरएनको गतिविधिमा विगत लामो समयदेखि सक्रिय रहेका छन् । 


संघको हिजोबाट शुरु भएको नवौं विश्व सम्मेलन अन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज विहान ८ बजेबाट शुरु भएको मनोनयन प्रक्रिया संगै २ बजेबाट मतदान हुँदैछ । करिब २६ सय भन्दा बढी मतदाताहरुले विधुतीय प्रणालीबाट गर्ने मतदानको मतपरिणाम आज नै घोषणा हुनेछ । 'म, मेरो एन आर एन ए र मेरो नेपाल' मूल नाराका साथ शुरु हुने सम्मेलनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सहमतीय प्रयासमा नेतृत्व चयन प्रक्रिया हुन सम्भव नभएपछि अन्तत: कुल १२ पदमा ४२ जनाको लागि निर्वाचन हुने देखिएको छ। संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । 

अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य बीच प्रतिष्पर्धा हुँदैछ । यस्तै ४ उपाध्यक्ष पदको लागि डा. बद्री केसी, हिक्मत थापा, सोनाम लामा, धर्मराज अधिकारी, अर्जुन श्रेष्ठ, मन केसी, थर्क सेन, डा. केशव पौडेल, किरण बिक्रम थापा, रविना थापा लगायतले आकांक्षा देखिएका छन् । एक महिला उपाध्यक्षको लागि सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेकी छन् ।

महासचिव पदमा यसअघि चर्चामा आएका डिबी क्षेत्री र डा. केशव पौडेल पछि हटे पछि संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मा र जानकी गुरुङ बीच भिडन्त हुने भएको छ । सचिव पदको लागि गौरी राज जोशी, शिव वरुवाल, आरके शर्मा, दीपक ओली, सुस्मा राई लगायतले उम्मेदवारी दिने भएका छन् ।

कोषाध्यक्षमा जापानस्थित सफल व्यवसायी महेश श्रेष्ठ, युवा संयोजक सुदन थापा र सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सहसंयोजकमा लोकमणि दाहाल र गोविन्द गौतमले उम्मेदवारी दिने तयारी गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!