भूकम्प पिडितले आवास पुनर्निर्माणको दोस्रो किस्ता कात्तिकभित्र लिइसक्नुपर्ने

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौँ | भूकम्प पिडितले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान कात्तिक मसान्तभित्र लिइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई आग्रह गरेको छ ।

प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको जानकारी दिएको छ । 

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडितलाई आग्रह गरे । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४५६ घर पुनर्निर्माणका क्रममा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!