नेपाल भ्रमण वर्ष-२०२० : विश्वभरबाट एक नेपालीले एक विदेशी पर्यटक नेपाल पठाउनुपर्ने

Posted on: 20 Oct, 2019

कार्त्तिक ३, काठमाडौँ | 'नेपाल भ्रमण वर्ष-२०२०' लाई सफल बनाउन विश्वभरबाट एक नेपालीले एक विदेशी  पर्यटक नेपाल पठाउ अभियान सञ्चालन गरिने भएको छ । नेपाल भ्रमण वर्ष-२०२०' सफल बनाउन भ्रमण वर्षको सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच भएको समझदारीमा यस्तो सहमति भएको हो ।


सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। उक्त लक्ष्य हँसिल गर्नका लागि भ्रमण वर्षको सचिवालय र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच १७ बुँदे समझदारी भएको हो । समझदारीमा गैरआवासीय नेपाली संघका नवनियुक्त अध्यक्ष कुमार पन्त र 'नेपाल भ्रमण वर्ष-२०२०' का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गरेका छन् ।

सबैभन्दा धेरै पर्यटक नेपाल पठाउने व्यक्ति वा संस्थालाई सरकारले सम्मान गर्ने पनि समझदारीमा उल्लेख छ । त्यस्तैगरि संघले विश्वभरि छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा विदेशी मित्रहरुका सवारी साधनहरुमा 'नेपाल भ्रमण वर्ष-२०२०' लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

भ्रमण वर्षको सचिवालय र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच भएको १७ बुँदे समझदारी 

१. संघले 'नेपाल भ्रमण वर्ष-२०२०' का सन्दर्भमा विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन गर्नेछ । उक्त कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ-संस्थालाई सम्मान गर्नको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।

२. संघले 'नेपाल भ्रमण वर्ष-२०२०' अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउनेछ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह

गर्नेछ ।

३. संघले विश्वभरि रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा 'Spend Holiday in Nepal with Family and Friends' अभियान सञ्चालन गर्नेछ ।

४. संघले विदेशमा रहेका नेपाली दूतावास र नियोगहरुमा 'भ्रमण वर्ष प्रवर्द्धन कक्ष' स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनेछ ।

५.'नेपाल भ्रमण वर्ष' २०२० को प्रचारप्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरि विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्‍याली गर्नेछ ।

६. संघका विश्वभरि रहेका सदस्य तथा विभिन्न नेपाली संघ-संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ-संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नेछ ।

७. संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपालसम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।

८. संघले विश्वभरि छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा विदेशी मित्रहरुका सवारी साधनहरुमा 'नेपाल भ्रमण वर्ष-२०२०' लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउनेछ ।

९. संघले विश्वभरिमा कम्तीमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल २०२० जुन महिनाभित्र नेपालमा गर्नेछ।

१०. सचिवालय र संघको समन्वयमा आउँडो जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका लागि सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

११. संघले सम्बन्धित देशका सञ्चारमाध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ ।

१२. सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघ-संस्थाहरुको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।

१३. संघले विश्वभरिका विभिन्न देशहरुका सार्वजनिक ठाउँहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा 'नेपाल भ्रमण वर्ष-२०२०' को प्रचार सामग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

१४. सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, मिडियालगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्नेछ ।

१५. सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामग्री उत्पादन गरी वितरण गर्नेछ ।

१६. सचिवालयले एक नेपालीले कम्तीमा 'एक विदेशी साथी नेपाल पठाऊ' अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ ।

१७. उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!