बाक्सिला बजारको स्तरोन्नती

Posted on: 10 Nov, 2019

चिसाङ शेर्पा | कार्तिक २४ खोटाङ | जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारको स्तरोन्नती गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा करिब ३० बर्ष पहेले देखि बाँसको टेका र चित्राले टहरा बनाएर चलिरहेको बाक्सिलाबजारलाई ट्रष्ट निर्माण गरेर नयाँ रुपमा स्तरोन्नती गरिएको हो ।

प्रदेश सरकारको १ करोड बजेटभित्र डिपिआरको बजेट कटाएर ८६ लाख ९ हजार २६६ मा निर्माण गरिएको ट्रष्टको शुक्रबार प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका छन् । २०७५ चैत्रबाट निर्माण उपभोक्ता समिति निर्माण गरेर निर्माण गरिएको ट्रष्टको काम गत साउनमा सकिएको निर्माण समितिका अध्यक्ष शिवकुमार राईले जानकारी दिए । १ वटा बधशाला सहित बजारमा १७ वटा फलामे ट्रष्ट निर्माण गरिएको छ । यसअघि यहाँ १ सय ३६ वटा टहरा थिए । 

गाउँपालिकाको सवै वडा र छिमेकी नगरपालिका-गाउँपालिकाबाट समेत व्यापार-व्यावसाय गर्न आउने सर्वसाधरणलाई सुविधा दिनलाई ट्रष्ट निर्माण गरेर सहज बनाईएको हो । फलामे ट्रष्ट निर्माण गरेर व्यवस्थित बजार भएपछि बाक्सिलाबजारको मुहार फेरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । यो विकासको राम्रो संकेत हो, हामी यसरी नै प्रदेश, संघीय र स्थानीय सरकारको सहकार्यमा गाउँपालिका संमृद्ध बनाउन युद्धस्तरमा अघि बढेका छौ । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य राईले यस भेगको विकास गर्नमा जनताले दिएको जनादेश इमान्दारीपूर्वक प्रदेशसभा र सरकारसमक्ष निर्वाह गर्नमा आफू जोडदार लागिरहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!