नेपालमा गार्मेन्ट उद्योग खोल्न बंगलादेश इच्छुक, ३ महिनामा १३ अर्ब विदेशी लगानीको प्रतिवद्धता

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौं | कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बंगलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । गार्मेन्ट उद्योग खोल्ने भन्दै बंगलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको छ ।

गार्मेन्ट उद्योगबाटै बंगलादेशको अर्थतन्त्र उकालो लागेको सकारात्मक अनुभवलाई नेपालसँग पनि साटासाटा गर्ने लक्ष्यका साथ बंगलादेशी कम्पनीले नेपालमा उद्योग स्थापना गर्न लागेको हो । उद्योग विभागका अनुसार बंगलादेशी कम्पनीले १५ करोड रुपैयाँ लगानीमा पहिलो चरणमा ३२ जनालाई रोजगारी दिने गरी उद्योग स्थापना गर्न लागेको हो । चालू आवको तीन महिनाको अवधिमा कूल रु १३ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यसमध्ये उत्पादनमूलक उद्योगतर्फ बंगलादेशी कम्पनीले चासो देखाएको हो । शतप्रतिशत वैदेशिक लगानी रहने गरी स्थापना हुन लागेको उक्त उद्योगले तयारी पोशाक १ लाख ३५ हजार उत्पादन गर्ने क्षमता राख्छ । त्यसमा शर्ट ३५ हजार थान, टाउजर १० हजार थान, ट्रयाकसुट २० हजार थान, टिसर्ट २० हजार थान, ज्याकेट २० हजार थान, वेस्टकोट १० हजार थान, स्कर्ट पाँच हजार थान, जम्पसुट ५ हजार थान र कुर्था १० हजार थान उत्पादन गर्ने लक्ष्य राखिएको छ । मध्यम खालको उद्योग स्थापना गर्ने गरी विभागमा आवेदन दिएको विभागको भनाइ छ ।

सन् २०१८ मा बंगलादेशले कूल ३२ दशमलव ९२ बिलियन अमेरिकन डलर बराबरको गार्मेन्ट निर्यात गरेको थियो । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको तीन महिनाको अवधिमा मात्रै बंगलादेशबाट कूल १ अर्ब ७० करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ ।

नेपालबाट भने सो अवधिमा कूल रु ३९ करोड १३ लाख ८० हजार बराबरको सामान निर्यात भएको छ । नेपाल र बंगलादेशबीच १ अर्ब ३१ करोड ८१ लाख १७ हजार रुपैयाँ बराबरको व्यापार घाटा छ । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाले पनि उत्पादनमूलक उद्योग स्थापना गरेर व्यापार घाटा घटाउन सकिने अवसर सिर्जना भएको छ । गार्मेन्ट उद्योगमा प्रख्याती कमाएको बंगलादेशको अनुभवबाट नेपालले पनि फाइदा लिने सक्ने देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कूल १०३ वटा गार्मेन्ट उद्योगले आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । सो केन्द्रका अनुसार चालू आवको तीन महिनामा तयारी पोशाकको निर्यातमा ५.९ प्रतिशतले ह्रास आएको छ ।

जुट तथा जुटका उत्पादनको निर्यातमा १०.७ प्रतिशतले वृद्धि भई १ अर्ब ४१ करोड रुपैयाँ बराबरको निकासी भएको छ । यस्तै ७८ करोड रुपैयाँको टेक्सटायल र ५७ करोड रुपैयाँको पश्मिना सल निर्यात भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!