वैदेशिक रोजगारबाट फर्किएका युवाहरू चिस्यान केन्द्र परियोजनामा लगानी गर्दै

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने भएका छन्। गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको रिटर्नी समूहले जनाएको छ ।

उक्त चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको लगानी रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ । परियोजनामा लगानी गर्ने सेयर सदस्यहररू छनौट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ। उक्त परियोजना निर्माणका लागि कन्सेप्ट पेपर स्वीकृत भएको छ।

चालू आर्थिक वर्षमा सरकारको १ करोड ७५ लाख रुपैयाँ पनि स्वीकृत भएको भएको छ । परियोजना निमार्णका लागि आवश्यक छलफल भइरहेको रिटर्नी माइग्रेन्ट नेपालले जनाएको छ। उक्त परियोजनाको लगानीका सम्भावना र अवसर लगायत सम्बद्ध सबै बिषयमा बिस्तृत छलफल गर्न मंसिर ७ गते नवलपुरको कावासोतीमा भेला बोलाइएको समुहले जनाएको छ । परियोजनाका लागि मंसिर ७ गते सेयर सदस्यता खुला हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!