रेमिट्यान्स लिने तर सहुलियत कर्जा नदिने बैंक सुध्रिनुपर्छ: कार्यकारी निर्देशक श्रेष्ठ

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौं । बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बिदेशबाट कामदारलाई बैंकहरुले सहुलियत कर्जा प्रवाह गर्न अटेर गरेको गुनासो गरेका छन् । बैंकहरु कामदारले बिदेशबाट पठाएको विप्रेषण लिन प्रतिस्पर्धा गर्ने तर  सहुलियत कर्जा दिन बैंकहरु तयार नभएको उनले बताएका छन् ।

अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आयोजित कामदारका लागि रेमिट्यान्स  र वित्तीय साक्षरतामा अभिमुखिकरण तालिमको भुमिका` विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंकहरुले पनि आफ्नो दायित्व बहन गर्नुपर्नेमा जोड दिए । 


बोर्डले गत वर्ष विदेशबाट नेपाल फर्किएकाहरुलाई सहुलियत कर्जा दिनको लागि १८ हजार युवाको आवेदन संकलन गरेको थियोे तर सो आवेदन अनुरुप क वर्गका बैंकहरुले सहुलियत कर्जा प्रवाह नगरेपछि श्रेष्ठले बैंकहरुको ध्यानाकर्षण गरेका हुन् । १० लाख रकम ५ वर्षका लागि देऊ भन्दा नदिने तर रेमिट्यान्स जम्मा गर्न मात्रै प्रतिस्पर्धा गर्ने ? आक्रोश पोख्दै श्रेष्ठले भने "सहुलियत कर्जा प्रदान गर्नका लागि बनाइएको कार्यविधी परिमार्जन गरौँ, तरपनि बैंकहरु कर्जा दिन तयार भएनन् ।के अब राज्य मात्र जिम्मेवार हुनुपर्ने हो ?" समृद्धि त्यसै अाउँदैन उनले भने सरकारसंगै निजि क्षेत्र, कामदार पनि जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

बैदेशिक रोजगारमा जाने कामदरको अकालमा हुने मृत्युदर कम गराउने, उनीहरुको मानसिक स्वास्थ्य सुधार र कामदारको आर्थिक बचत गर्न सघाउ पुर्याउने गरि आगामी कार्ययोजना बनाइएको नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघकाअध्यक्ष राजाराम गौतमले बताए ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत  महेश शर्मा ढकालले कामदारले बिदेशमा कमाएको रकम सहि सदुपयोग गर्नमा वित्तीय साक्षरता जगाऊन सघाउने कार्यक्रम गर्न सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!