पोखरामा आकाशे पुल निर्माण शुरुआत्

Posted on: 13 Dec, 2019

मङ्सिर २७, कास्की | पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माण शुरुआत गरेको छ । बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा प्रदान गर्न महानगरले सिर्जनाचोक, पृथ्वीचोक र बिपीचोकमा आकाशे पुल निर्माण गर्न लागेको जनाएको छ  ।

 वडा नं ८ स्थित सिर्जनाचोकमा बन्न लागेको पुलको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै पर्यटकीय शहर पोखरा शान्त, सुरक्षित र कोलाहल मुक्त छ भन्ने सन्देश विश्वलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ बजार क्षेत्रमा बन्ने आकाशे पुलबाट सर्वसाधारणलाई सहज हुन्छ ।  दुर्घटनाको जोखिमसमेत घटाउने छ ।  ”

महानगरले रु दुई करोड ३० लाख ११ हजार लागतमा सो पुल  आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी केएम जेभिएनएस जेभी पोखरासँग ठेक्का सम्झौता गरेको छ ।

पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचनामा निर्माण गरिने इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिनुभयो  । उहाँका अनुसार चालू वर्षभित्रमा अन्य दुई स्थानमा समेत निर्माण थालनी गरिने छ ।  

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा आकाशे पुल वर्षौँदेखिको आवश्यकताका रुपमा रहेको चर्चा गर्दै यसलाई प्रदेश गौरवको योजनाका रुपमा लिनुपर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले निर्धारित मितिभित्रमै सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

महानगर प्रमुख मानबहादुर जिसीले आकाशे पुलसँगसँगै मुख्य चोकमा ट्राफिक बत्ती राख्ने योजनासमेत अघि बढेको जानकारी दिनुभयो । उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा विकास र समृद्धिको यात्रामा महानगर अघि बढेको बताउनुभयो । 


माथिको तश्वीरमा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा महानगरपालिका वडा नं ८ स्थित सिर्जनाचोकमा निर्माण गर्न लागिएको आकाशे पुलको शुक्रबार शिलान्यास गर्दै । तस्वीरः कृष्ण दवाडी, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!