भूकम्पपीडितलाई अन्तिम अवसर

Posted on: 31 Dec, 2019

पुष १५, काठमाडौँ | भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ । 

अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी भएकाहरुले भने असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ । पहिलो किस्ता भने यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले भनेको छ ।

भूकम्पमा घर गुमाएका कतिपय व्यक्ति विभिन्न कारणले अनुदान सम्झौता गर्नबाट वञ्चित छन् । यस्ता पीडितहरू अनुदान लिनबाट वञ्चित भएको गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न अवसर दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, अनुदान लिन छुटेका भूकम्पपीडितले ०७६ पुस मसान्तसम्म पहिलो किस्ता लिइसक्नुपर्नेछ । तर, त्यसभन्दा पहिले त्यस्ता लाभग्राहीले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट पीडित भएको प्रमाणित गराउनुपर्नेछ ।

त्यस्तै, आवास निर्माणको दोस्रो किस्ता लिने समय पनि प्राधिकरणले थपेको छ । यसअघि दोस्रो किस्ता लिन कात्तिक मसान्तसम्मको समय दिएको प्राधिकरणले ३ महिना थप गर्दै माघ मसान्तसम्मको समय दिएको हो ।

आवास निर्माणको समयसीमामा भने प्राधिकरणले कडाइ गरेको छ । प्राधिकरणका अनुसार, आवास अनुदानका लागि रकम लिएकाहरूले असार मसान्तसम्म निर्माण सकेर तेस्रो किस्ता लिइसक्नुपर्नेछ । आवास निर्माणको समय थप्दै आएको प्राधिकरणले अन्तिम पटक आउँदो असार मसान्तसम्मको समय दिएको हो ।

०७६ वैशाख १२ गते गोरखाको लाप्राक केन्द्रविन्दु भएर गएको भूकम्पले हजारौं आवासहरू भत्किए पनि अझै पुनर्निर्माण कार्य सकिएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!