सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको छ |

कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पताल, जोरपाटीको नारायणटारस्थित शङ्खरापुर अस्पताल र सिन्धुपाल्चोकको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालसँग एमओयू गरेको हो । आज राजधानीमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र सम्बन्धित अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

सामाजिक सुरक्षामा सामेल भएका योगदानकर्ताको स्वाथ्योपचारसम्बन्धी सेवा ती अस्पतालले प्रदान गर्नेछन् । अर्को सातादेखि देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालसँग योगदानकर्ताको स्वास्थ्योपचार गर्नेसम्बन्धी समझदारी गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डको उपचारसम्बन्धी दरलाई नै आधार मानेर ती अस्पतालसँग समझदारी गरिएको हो । 

सो अवसरमा कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्तालाई सहज रुपमा सेवा उपलब्ध गराउन मुलुकका सबै अस्पतालसँग समझदारी गरिने बताउनुभयो । योगदानकर्ताको औषधोपचारको खर्च दाबी गर्ने प्रक्रियालाई पनि अनलाइन प्रणालीमा लगिएको उहाँको भनाइ थियो । “मुलुकभरका सबै अस्पताललाई कोषमा आबद्ध गराएर योगदानकर्तालाई सहजै सेवा उपलब्ध गराउनु अबको प्रमुख उद्देश्य हो”, उहाँले भन्नुभयो । 

कार्यक्रममा शङ्खरापुर अस्पतालका निर्देशक डा रमेश ढकालले सामािजक सुरक्षा कार्यक्रम अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य उपचारको दरलाई समयानुकूल समायोजना गरेर जान कोषलाई सुझाव दिनुभयो । 

सरकारले गत मङ्सिर ११ गते नयाँ युगको शुभारम्भ स्वरुप योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । सो योजना गत साउन १ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यसअवधिमा योजनामा सहभागी भएर मृत्यु भएका दुई योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गर्दै आएका छन् । 

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजनालगायत चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । कोषले सञ्चालनमा ल्याएका दुई योजनाको महत्वपूर्ण पक्षका रुपमा स्वास्थ्य संस्था रहेका छन् । हालसम्म कोषमा १२ हजार रोजगारदाता, एक लाख ३५ हजार श्रमिक सूचीकृत भएका छन् । यस्तै करिब ३६ करोड योगदान रकम सङ्कलन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!