बैतडीमा विद्युत प्रसारणलाइन विस्तार गरिँदै,कुन-कुन स्थानमा ?

Posted on: 09 Feb, 2020

माघ २६, बैतडी | बैतडीको तल्लोस्वराड क्षेत्रमा विद्युत राष्ट्रिय प्रसारणलाइन विस्तारको काम थालिएको छ | मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युतको राष्ट्रिय प्रसारण पुर्‍याउनका लागि काम शुरु भईसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ | 

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका अनुसार पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौली सम्म लाइन विस्तारको काम शुरु भईसकेको छ | पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोड र मेलौलीमा सवस्टेशन निर्माणका लागि आर.के. इन्टरनेश्नल प्रालिसंग गत जेठमा साढे १२ करोडमा ठेक्का सम्झौता भएको हो |

पाटनदेखि मेलौलीसम्म प्रसारणलाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसंग सम्झौता भएको जनाएको छ | लाइन विस्तारको काम पनि एक बर्षभित्र सक्ने गरेर गत जेठमा सम्झौता भएको हो | तल्लोस्वराड क्षेत्रलाई विद्युतको राष्ट्रिय प्रशारणमा पहुँच पुर्‍याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको छ |  नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो बर्ष विद्युत पहुँच विस्तार गर्नेगरी काम गरिरहेको बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!