मर्मतका लागि कालीगण्डकी जलविद्युत ३ दिन बन्द हुने

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिनसम्म २० घण्टा बन्द हुने भएको छ | विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो |

दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार (१२ फागुन) साँझ पाँच बजेसम्म बन्द रहने छ | स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् | एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो | केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ | मुलुककै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ |

विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको ब्ताइएको छ |बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!