उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालद्वारा उम्मेद्वारी घोषणा

Posted on: 26 Feb, 2020

फागुन १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौंमा होटल याक एण्ड यतीमा एक कार्यक्रम गरेर ढकालले आगामी चैत २८ र २९ मा हुने साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

६३ जिल्ला अध्यक्ष, ६० भन्दा बढी वस्तुगत तर्फका अध्यक्षसहित पूर्व अध्यक्षहरूलाई राखेर ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी घोषणा सभामा महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरू पनि सहभागी थिए । 

आर्थिक समृद्धिका लागि राज्यले निजी क्षेत्रलाई पाटनरका रूपमा लिनुपर्ने भन्दै 'समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार' भन्ने नारा अघि सारेका छन् ।  एक : राज्यको नीतिलाई सहयोग पुग्ने, दुई : धेरैभन्दा धेरै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने र तीन : व्यवसाय नाफामुलक र दिगो हुनुपर्ने रहेका छन् । 

महासंघमा हाल उपाध्यक्ष रहेका ढकालले उम्मेद्वारी दिने घोषणा गर्दै भने 'देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभयो,त्यही कारण म वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।' गत पुसमा ढकालको गृहजिल्ला बागलुङ उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्षको रुपमा लड्ने उनले घोषणा गरेका थिए । 

उम्मेदवारी घोषणा गर्दै उनले महासंघको आगामी अध्यक्ष शेखर गोल्छा 'डाइनामिक' रहेको पनि बताए । ''महासंघको भावि अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि डायनामिक नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं,” उनले भने, “उहाँको नेतृत्वको टिम व्यावसायिक र गतिशील बन्नेछ ।'' यो टिमले महासंघलाई एक र एक जोडेर दुई नभई, एक र एक जोडेर ११ बनाउने उनले बताए ।

ढकालले आफु बागलुङको गाउँमा जन्मेर सहायक स्तरको जागिर हुँदै सुरु गरेको व्यवसायबाट यहासम्म आएको भन्दै आइएमई हुँदै बैंक, बीमा केबलकार हुँदै सेवा क्षेत्र व्यवसाय विस्तार गरेको जानकारी दिए । 

उनले राजनीतिक नेतृत्वले लिएको नीति अनुसार सरकारी संयन्त्रले काम नगरेको भन्दै उद्योगी व्यवसायीले नेपालको परम्परागत संरचनामा काम गर्न नपाएको गुनासो गरे । राज्य हाम्रो अभिभावक भएको र सहजिकरण गर्नुपर्ने कतिपय अवस्थामा सघर्ष गर्नुपर्ने बताए । निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको व्यवस्थामा परिवर्तन गर्नुपर्ने र करका विविधताको कारण उद्योग व्यवसायीहरु मारमा परेको ढकालले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!