उर्जा मन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

Posted on: 06 Mar, 2020

फागुन २३, काठमाडौँ | नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनयमोहन क्वात्रा र ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबिच सुक्रबार भेटवार्ता भएको छ | भारतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ | 


नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई शुक्रबार भेटेर वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाउनुभएको हो । 

त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गर्नुभयो । विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गर्नुभयो । अरुण तेश्रोतको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उहाँले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गर्नुभयो |


यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।

मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो । जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो । सोही आधारमा नेपालले बंगलादेशँग विद्युत व्यापारको सम्झौता गरेको छ । 

यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोश्रो अन्तरदेशी प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ । भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गर्नुभयो । मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेश्रो जलविद्युत आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा उहाँले धन्यवाद दिनुभयो । 


यसअघि समेत काठमाण्डौंस्थित सार्क सचिवालयमा रहेर लामो समय काम गरिसकेको र नेपाली समाज बुझेका कारण राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । 

क्वात्रासँग ३० वर्ष भारतीय विदेश सेवामा काम गरेको अनुभव छ । गत पुस २८ मा  राजदूत नियुक्त भएका क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको थियो । १९८८ मा सेवा प्रवेश गर्नुभएका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाण्डौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त व्युरो प्रमुुखका रुपमा काम गर्नुभएको थियो । क्वात्राले विजनेस एडमिनिस्ट्रेनसमा स्नातकोत्तर र अर्थशास्त्रमा एम फिल गर्नुभएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!