धरहरा पुनर्निर्माण: ८ तलाको काम सकियो

Posted on: 10 Mar, 2020

फागुन २७, काठमाडौं | गोरखा भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माण ०७७ असोज महिनाभित्र सक्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काम गरिरहेको छ | अहिले नौतलाको काम जारी रहेको र ३३ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ |

उक्त संरचना निर्माणका लागि हालसम्म रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी दिए | प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए । अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन् । पहिलेभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ |

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनर्निर्माणको जिम्मा पाएको थियो । जम्मा रु तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ |

बगैंचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ |रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!