अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे,कुन एयरलाइन्सको कति कटौती ?

Posted on: 10 Mar, 2020

सिबी अधिकारी | फागुन २७, काठमाडौं | कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताए । अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ ।

अन्तरराष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आङ्कलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक ६ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताए ।

‘कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो (प्राधिकरण) को मुख्य आम्दानी नै अन्तरराष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ’, उनले भने ।

प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ । ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ । पहिला अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ हजार मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

कुन एयरलाइन्सको कति कटौती  ?

कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ । नेपाल र चीन दुवैतर्फको उडानमा भारी कटौती भएको हो । प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाइमा चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । नेपालबाट चीनमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएकामा अहिले सबै बन्द गरेको छ । चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेका छन् ।

प्राधिकरणका अनुसार एयर चाइनाले सातामा १४ उडान गर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना स्ट्रनको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन तर नेपालका तर्फबाट नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले दोहामा आजदेखि तत्कालका लागि उडान स्थगन गरेका छन् । कतारबाट नेपालको उडान भने नियमित भइरहेको छ । कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ । भारतको नयाँदिल्लीलगायत गन्तव्यको उडान पनि नियमित भइरहेको छ । 

मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब ह्रास आउने वायु सेवा सञ्चालक सङ्घले यही २३ गते विज्ञप्ति निकालेर जनाएको थियो ।

विश्वव्यापी रुपमा कोरोनाको सङ्क्रमण फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालको नागरिक उड्डयन क्षेत्रमा परेको छ । विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरिसकेका छन् । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको तथा ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको व्यवसायीको भनाइ छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!