राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै

Posted on: 14 Mar, 2020

चैत १, दाङ | राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सव–इञ्जिनीयर नारायण दाहालले बताउनुभयो । 

कार्यालयको  रु ३२ लाख लगानीमा उक्त काम शुरु भएको उहाँको भनाइ थियो । सडकबीचमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम बढेको भन्दै पुर्ने काम शुरु भएको दाहालले बताउनुभयो । त्यस्तै नाला मर्मत गर्ने काम समेत थालिएको छ । उहाँले भन्नुभयो, “ दुर्घटना न्यूनीकरण गर्नका लागि खाल्डाखुल्डी र नाला मर्मत गर्न थालेका हौँ ।” 

फागुन दोस्रो सातादेखि शुरु भएको उक्त काम एक/डेढ महिनामा सकिने बताइएको छ । “फागुन अन्तिम दिनसम्म सक्ने गरी सम्झौता भएको हो, तर काम ढिला शुरु भयो”, उहाँले भन्नुभयो । 

चिसोमा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भएपछि ढिला गरी काम शुरु गरेको बताइएको छ । सो कार्यको जिम्मा पे्रमधन निर्माण सेवाले लिएको छ । सडक डिभिजन कार्यालयलाई वर्षेनी १० देखि २९ किलोमिटर सडकबीचमा परेका खाल्डाखुल्डी पुर्ने गरी बजेट आउने गर्छ । अहिले राप्ती लोकमार्गअन्तर्गत धेरै स्थानमा खाल्डाखुल्डी भए पनि दाङ खण्डको तुलसीपुर बजारदेखि भञ्ज्याङसम्म मात्रै काम गर्ने गरी बजेट आएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!