पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ | मूल्य समायोजनका क्रममा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ |

सोमबार राति १२ बजे देखि लागु हुनेगरी घटेको मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ | आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेको छ | नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ |

मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ |

त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दुरीसम्मको १०५ रुपैयाँ ५० पैसा कायम भएको छ। थानकोट, सुर्खेत र दिपायल डिपोमार्फत ढुवानी हुने पेट्रोलको मूल्य १०६ रुपैयाँ कायम भएको छ | बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोमार्फत १५ किलोमिटर दुरीसम्म डिजेल र मट्टितेलको खुद्रा मूल्य ९३ रुपैयाँ ५० पैसा कायम भएको छ।

सोही दुरीमा पोखरा र दाङ डिपोमार्फत जाने मट्टितेल र डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ। थानकोट, सुर्खेत र दिपायलमार्फत ढुवानी हुने डिजेल, मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको निगमले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!