वैदेशिक रोजगारीमा जान रोकिएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध हुन सरकारको आह्वान

Posted on: 19 Mar, 2020

चैत्र ६, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानबाट नेपालमा नै रोकिएका श्रमिकलाई नेपालमै रोजगारीमा संलग्न हुन आह्वान गरेको छ ।

विहिवार मन्त्रीपरिषदको बैठकबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भई रोजगारीमा संलग्न हुन श्रमिकहरुलाई आव्ह्वान गरेका हुन् ।

वैदेशिक रोजगारी तत्कालका लागि नागरिकको सुरक्षाको लागि नै स्थगित गरेका हौं प्रवक्ता खतिवडाले भने 'काम सानो ठुलो हुँदैन, सबैले टेवलको काम नै गर्छु भन्नु भएन, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवद्ध भएर काम गर्नुहोला।' तत्कालका लागि सुरक्षाका लागि नै विदेशिएका नेपालीहरुलाई पनि नेपाल आउन रोकिएको उनले बताए ।

वैदेशिक रोजगार बन्द हुँदा विप्रेषणमा तत्कालका लागि असर नपर्ने र त्यसका कारण कुनै वित्तीय संकट नहुने उनले बताए । सरकारले फागुन २९ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको छ साथै गन्तव्य मुलुकले पनि विदेशी श्रमिक नलिने निर्णय गरिसकेका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!