श्रम स्वीकृति लिएर विदेश जान नपाएकाहरुलाई ७ दिनभित्र सहुलियत कर्जा प्रदान गरिने

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएर पनि कोरोना भाइरस संक्रमणका कारण विदेश जान नपाएकाहरुलाई ७ दिनभित्र सहुलियत कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै सरकारबाट अनुमति लिएर रोजगारीमा विदेश जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकको यो निर्देशनसंगै सहुलियत कर्जा लिन चाहने नागरिकले आवश्यक डकुमेन्ट सहित बैंकहरुमा सम्पर्क गर्नुपर्नेछ । आवश्यक डकुमेन्ट पुगेको ७ दिनभित्र अनिवार्य रुपमा बैंकहरुले सहुलियत कर्जा प्रदान गर्नुपर्नेछ । 

त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नेपालमै रोजगारीको ग्यारेन्टी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रम स्वीकृति लिएर विदेश जान नपाएकाहरुको प्रत्येक स्थानीय तह मार्फत जिल्लागत विवरण तयार गरि उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । यस वर्ष सरकारले ६० हजारलाई सय दिनको रोजगारी दिने तयारी गरेको छ । 









यस बिषयमा तपाइको प्रतिक्रिया...!