नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

Posted on: 06 Apr, 2020

चैत २४, काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षे कार्यकालको लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका अधिकारीलाई गभर्नरको जिम्मेवारी दिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ । अधिकारी १६ औँ गभर्नर सिफारिश गर्दा पनि ३ जनाको सूचीमा परेका थिए । 

प्रदेश १ को खोटाङमा जन्मिएका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक गरेका छन् भने १९९३ मा भारतबाट चार्टड एकाउण्टेन्सी गरेका छन् । २०४२ सालमा राष्ट्र बैंकको जागिरे बनेका अधिकारीले २०७२ पुसमा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका थिए । ९ असार २०७३ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्ति पाएका थिए ।

हालसम्मका १६ गभर्नर

१. हिमालय सम्शेर जबरा

२. लक्ष्मीनाथ गौतम

३. प्रद्युम्नलाल राजभण्डारी

४. डा. भेष बहादुर थापा

५. डा. यादव प्रसाद पन्त

६. कुलशेखर शर्मा

७. कल्याण विक्रम अधिकारी

८. गणेश बहादुर थापा

 ९. हरिशंकर त्रिपाठी

१०. सत्येन्द्र प्यारा श्रेष्ठ 

११. डा. तिलक बहादुर रावल

१२. दिपेन्द्र पुरुष ढकाल

१३. विजयनाथ भट्टराई

१४. दिपेन्द्र बहादुर क्षेत्री

 १५. युवराज खतिवडा

१६. डा. चिरञ्जीवी नेपाल

यस बिषयमा तपाइको प्रतिक्रिया...!