वैशाखमा भन्सार कार्यालयमा राजश्व संकलन शून्य, उद्योग कलकारखाना प्रभावित

Posted on: 07 May, 2020

वैशाख २५, नवलपरासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ । चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिनुभयो  ।

लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि रु ८८ लाख र बन्दाबन्दीपछि जम्मा रु सात लाख मात्र राजश्व संकलन भएको देखिन्छ ।  

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताउनुभयो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कुल रु  १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म रु ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ । 

उद्योग कलकारखाना प्रभावित

बन्दाबन्दीका कारण पश्चिम नवलपरासीमा अधिकांश उद्योग कलकारखाना प्रभावित भएका छन् । कामदार र आवश्यक कच्चा पदार्थको अभावमा उद्योगधन्दा प्रभावित भएका हुन् ।   जिल्लामा साना, मम्झौला र  ठूला उद्योग गरी सबै प्रकारका उद्योगधन्दा बन्द हुँदा व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको  छ  ।

जिल्लामा बन्दाबन्दीबाट निजी क्षेत्र पनि निकै प्रभावित बनेको छ । सरकारले निजी क्षेत्रलाई बैंकको व्याज छुटलगायत विशेष प्याकेज व्यवस्थापन गर्नुपर्ने संघका अध्यक्ष केशवप्रसाद भण्डारी बताउनुहुन्छ । जिल्लामा खाद्यान्नबाहेक अन्य सिमेन्ट र स्टिल उद्योग केही सीमित  सञ्चालनमा रहे पनि त्यसबाहेकका अधिकांश उद्योग बन्द  छन् । पश्चिम नवलपरासीमा सात ठला, ३६ मम्झौला र ८० घरेलु तथा साना उद्योग व्यवसाय छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!