४४ संस्थानमध्ये २६ वटा मात्रै नाफामा, १३ वटा घाटामा, ५ को कारोबार शुन्य

Posted on: 26 May, 2020

जेठ १३, काठमाडौं । सरकारको लगानीमा संचालित ४४ वटा संस्थानमध्ये गत आर्थिक वर्षमा २६ वटा संस्थानबाट मात्रै नाफामा रहेको देखिएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार गत आर्थिक वर्षमा २६ वटा संस्थानबाट मात्रै नाफामा गएको देखिएको छ ।

सर्वेक्षणका अनुसार १३ वटा संस्थानले घाटा व्यहोरेका छन् भने ५ संस्थानको कारोबार शून्य रहेको छ । हाल सरकारको लगानीमा ४४ वटा सार्वजनिक संस्थानहरु छन् । जनकपुर चुरोट कारखाना, विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रशारण ग्रिड कम्पनी व्यावसायिक रुपमा सञ्चालन भएका छैनन् । नोक्सानीमा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड सञ्चालनमा छैन भने नेपाल रेल्वे कम्पनी लिमिटेड निर्माणाधीन अवस्थामा रहेको छ। 

नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३०६ दशमलव ५८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा सेयर धनी कोष र नेट वर्थ गत आर्थिक वर्षको तुलनामा २१ दशमलव ०१ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपैयाँ बराबर पुगेको छ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक संस्थानबाट ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १२.३६ प्रतिशतले बढी हो । आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सरकाले लिने लाभांश अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले कमी आइ जम्मा ९ खर्ब ४७ करोड ९ लाख रुपैयाँ प्राप्त भएको छ ।

संस्थानहरुको सञ्चिती नाफा ३.८३ प्रतिशत र सञ्चिती नोक्सानी २७.३३ प्रतिशतले कमी आए पनि समग्र सञ्चिती नाफा २८.९३ प्रतिशतले बढेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!