प्रहरी भवनमा बाख्रा र कुखुरापालन

Posted on: 29 May, 2020

जेठ १६, रोल्पा (रासस) | जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ ।

विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित १३ कोठाका दुई भवन  जिल्ला प्रहरी कार्यालयमा कर्मचारीका परिवारलाई बाख्रा र कुखुरा पाल्ने खोरका रुपमा परिणत भएको छ । जिल्ला सदरमुकामको बजार क्षेत्रबाट एकान्त स्थानमा रहेको उक्त भवन परिसरमा मनमोहक वातावरणका साथै मन्दिर तथा खेल मैदान पनि  छन् । 

सरकारी बजेटमा बनेका भवन सरकारी प्रयोजनकै लागि व्यवस्थापन गर्नुपर्नेमा बेवारिसे बनाउनु सरकारी सम्पत्तिको दुरुपयोग भएको पूर्वसांसद लेखनाथ आचार्यको भनाइ छ । “कार्यालय प्रयोजनका लागि बनेका यस्ता भवनमा कुखुरा र बाख्रापालन गर्नु राम्रो होइन”, आचार्यले भन्नुभयो । 

प्रहरी नायब निरीक्षकको  नेतृत्व रहने गरी नेपाल प्रहरीकै एउटा टुकडी राख्न निर्मित सो भवनमा रहने टुकडी पनि जिल्ला प्रहरी कार्यालय मातहतमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । “जिल्ला प्रहरी कार्यालयमा रहेका भवनबाट सवै काम हुने भएपछि उक्त भवनको आवश्यकता नपरेको प्रहरी नायय उपरीक्षक गुरुङ बताउनुहुन्छ ।

गृह मन्त्रालयकै एक कार्यालयको भवन यसरी प्रयोगविहीन भइँरहदा सोही मन्त्रालयको अर्को निकाय सशस्त्र प्रहरी बलको रोल्पास्थित गुल्म भने भवन अभावमा सदरमुकाम लिवाङदेखि ५ किलोमिटर दूरीमा एकान्त जंगलको बीचमा रहेको एक सरकारी भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।  सशस्त्र बलको कार्यालयमा टेलिफोन तथा इन्टरनेटको पहुँच नहुँदा सशस्त्र प्रहरीको दैनिक कार्य सञ्चालन जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयको एक कोठाबाट गरिँदै आएको छ ।  “गृह मन्त्रालयअन्तर्गतका कुनै कार्यालयलाई आवश्यक परेमा सो भवन प्रयोग गर्न दिन सकिन्छ”, प्रजिअ लक्ष्मण ढकालले भन्नुभयो, “अहिलेसम्म कसैले माग गरेका छैनन् ।” कोरोना भाइरसका  कारण जिल्ला  बाहिरबाट आउनेहरुका लागि क्वारेन्टिनका रुपमा पनि भवन प्रयोगमा ल्याउन सकिने प्रजिअ ढकालले बताउनुभयो ।

 जिल्लामा नेपाल प्रहरीका लागि भने आधुनिक भवन धमाधम बनिरहेका छन् । कुल रु ६ करोड ६७ लाखको लागतमा निर्माण गरिने  ती भवनमध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन छन् । हाल महिला तथा बालबालिका सेल, प्रहरी आवास, प्रशासनिक भवन, प्रहरी निरीक्षक आवास तथा हिरासत भवन निर्माण गरिएको छ ।  सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षले ध्वस्त पारेकामध्ये चार इलाका प्रहरी कार्यालय भवन निर्माण भइसकेका छन् । जिल्लाका पोवाङ, सुलिचौर, होलेरी र घर्तीगाउँमा ती कार्यालय निर्माण भइसकेका छन् भने इलाका प्रहरी कार्यालय थवाङ र जुगारमा निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!