काठमाडौं उपत्यकाका केहि ठाउँमा दिनभर विद्युत आपूर्ति बन्द हुने, कहाँ कहाँ काटिनेछ बिजुली हेर्नुहोस्

Posted on: 31 May, 2020

जेठ १८, काठमाडौं। चक्रपथ विस्तारका लागि सघाउनुपर्ने र संरचना मर्मत गर्नुपर्ने भएकाले उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा आइतबार विद्युत सेवा अवरुद्ध हुने भएको छ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकीदेखि ढुंगेधारासम्म चक्रपथ विस्तारका लागि र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारका लागि उक्त क्षेत्रका दर्जनभन्दा बढी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो।

तोकिएका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत 'सटडाउन' गरिने प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन्। स्युचाटार-स्वयम्भू फिडरअन्तर्गत एचटी लाइनको जम्पर छुटाइ सडक दायाँबायाँ रहेका विद्युतीय संरचना स्थानान्तरणको काम गर्नुपर्ने र भीमढुंगा ११ केभी स्वीच जडान गर्नुपर्ने भएकाले आज दिनभर लाइन सटडाउन हुने भएको हो।

उक्त फिडरबाट विद्युत आपूर्ति लिने बुढाथोकी कोल्ड स्टोर, मुसलमान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने छ।

निर्धारित समय अगावै काम सकिएमा ५ बजेभन्दा अघि नै विद्युत आपूर्ति पूर्ववत् सुचारु हुन सक्नेसमेत प्राधिकरणले जनाएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!