कोरोना बीमा स्थगित गर्ने सहमति, बीमा समितिले निर्णय गर्दै

Posted on: 04 Jun, 2020

मनोज पराजुली। जेठ २२, काठमाडौं । बीमा समिति र नेपाल बीमक संघबीचमा भएको छलफल पश्चात कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । दुई पक्षका बीच भएको छलफल पश्च्यात कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको बिमक संघका एक सदस्यले साझा सवाललाई जानकारी दिए ।

आजसम्म पोलिसी बेच्ने र भोलि शुक्रबार देखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको छ उनले भने 'सायद आज बीमा समितिले निर्णय गर्नेछ ।' बीमा भोलिबाटै स्थगित गर्ने सहमति भएपनि बीमा समितिले यो समाचार तयार गर्दासम्म औपचारिक निर्णय भने गरिसकेको छैन । 

यसअघि बीमक संघले बीमा समितिलाई लिखित पत्र नै बुझाएपछि बीमा समितिले स्थगित गर्न बाध्य भएको श्रोतको भनाई छ । बीमक संघको हिजो बसेको बैठकले कोभिड–१९ बीमा पोलिसी स्थगित गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

हाललाई मोडालिटी परिवर्तन गर्नुपर्ने अवस्था आएको र अहिलेलाई स्थगित गर्ने भनेर समितिमा पत्र पठाएको उनले बताए । अब बीमा पोलिसी नबेच्ने र बजेटमा कोरोना बिमा बारे समेटिएको तर मोडालिटी स्पष्ट नभएकोले हाललाई स्थगित गर्ने निर्णय भएको उनले बताए  । हालसम्म ३ लाखले बीमा गरिसकेका छन् उनले भने 'यस पोलिसीको पुनर्विमा नभएका कारण बिमा कम्पनीको आफ्नो क्षमता भन्दा बढी धान्न नसक्ने अवास्था आएकोले स्थगित गर्नुपरेको हो  ।'

२ महिनाममै स्थगित हुँदै 

गत बैशाख ४ गते बिमा समितिले कोरोना संक्रमण फैलन सक्ने अवस्था र सम्भावनालाई मध्यनजर गरि कोरोना भाइरस बाट उत्पन्न हुने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा विशेषगरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले यो बीमालेख जारी गर्ने निर्णय गरेको थियो । सो पश्चात हालसम्म ३ लाख जनाले कोरोना बीमा गरेका छन् । नेपालमा १६ जनामा कोरोना भाइरस देखिएको अवस्थामा शुरु भएको कोरोना बिमा २३ सय नेपालीमा संक्रमण देखिएसंगै बन्द हुने अवस्थामा पुगेको छ ।

पोलिसीमा के छ ? 

कोरोना भाइरसलाई लक्षित गर्दै एक लाख र ५० हजारगरि २ वटा बीमालेख जारी गर्न सकिने व्यवस्था छ ।  एक लाख रुपैंयासम्मको बीमा गर्दा एक हजार रुपैंया प्रिमियम शुल्क लाग्ने र परिवारका सबै सदस्यहरुको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैंया बीमा शुल्क लाग्ने व्यवस्था छ । त्यस्तै ५० हजार रुपैंयासम्म बीमा गर्न सकिने र सो बापत प्रतिव्यक्ति ५ सय बीमा शुल्क तोकिएको छ । यस अन्तर्गत परिवारका सबै सदस्यको बीमा गर्न चाहेमा थप ३ सय बीमा शुल्क लाग्नेछ ।

यस पोलिसी अन्तर्गत बीमा गर्ने व्यक्तिलाई कोरोना लागेको भनि पिसिआर परिक्षणमा पोजेजिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन सकिने छ । दावीको लागि बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि राखिएको छ । 

बजेटले सम्बोधन गर्यो तर ..

अर्थमन्त्री डा. युवराज खतिवडाले अगामी आर्थिक वर्ष २०७७/७८ बजेट मार्फत कोरोना रोगको बीमा हुने थप व्यवस्था गरी रु. १ लाख सम्मको सामुहिक कोरोना बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने प्रबन्ध मिलाएको उल्लेख छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतका व्यक्तिको बीमा दायित्व शुल्क सरकारले व्यहोर्ने व्यवस्था छ ।

निर्णय आउंदै छ : बीमा समिति 

कोरोना बीमा बारे के गर्ने भन्ने विषयमा छलफल चलिरहेकोले आज नै केहि निर्णय आउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साझा सबलालई बताए । 



















यस बिषयमा तपाइको प्रतिक्रिया...!