बेलायतद्वारा कोरोनासँग जुध्न नेपाललाई थप आर्थिक सहयोग

Posted on: 07 Jun, 2020

जेठ २५, बेलायत । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । 

डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड पाउण्ड पुर्याएको छ । हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ । नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २०५ वर्ष पुगेको छ । 

कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो । अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायत संस्थाले यहाँ रहेका गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउँछन् ।

अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डिफिडले हालसम्म कोरोना रोकथामका लागि विश्वभर सहयोग गर्न अहिलेको सहयोगसहित ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!